NMA लाई जोटुफको २४ घण्टे अल्टिमेटम: माग पूरा नभए कडा आन्दोलनको चेतावनी
NEWS DESK
Aug-11 तारिख 05:05 बिहान

काठमाडौँ। तालिम सञ्चालनमा ढिलाइ र समिति छनोटमा विभेद गरिएको भन्दै संयुक्त पर्यटन ट्रेड युनियन फोरम (जोटुफ - JOTTUF) ले नेपाल पर्वतारोहण संघ (NMA) लाई २४ घण्टे अन्तिम अल्टिमेटम दिएको छ।

यसअघि बुझाइएको ७२ घण्टे अल्टिमेटम र विभिन्न समयमा दिइएका ज्ञापनपत्रहरूलाई संघले बेवास्ता गरेको भन्दै जोटुफले २४ घण्टाभित्र वार्ता र तालिम सञ्चालनको ठोस अग्रसरता नदेखाए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको हो।

जोटुफका अनुसार गत असार १७ गते (२०८३/०३/१७) तालिमसँग सम्बन्धित गुनासा र समिति छनोटमा भएको विभेदबारे NMA को ध्यानाकर्षण गराउँदै पत्र दर्ता गराइएको थियो। तर, संघले कुनै सुनुवाइ नगरेपछि साउन १४ गते ७२ घण्टे अल्टिमेटम पत्र बुझाइएको थियो। सो समयमा NMA का प्रतिनिधिहरूले अध्यक्ष विदेशबाट फर्किएलगत्तै बैठक बसेर समस्या समाधान गर्ने आश्वासन दिए पनि हालसम्म कुनै बैठक नडाकिएको जोटुफको आरोप छ।

'साउन १४ गते दर्ता भएको 'Summer Skill Training II' का प्रशिक्षार्थीहरूको मागप्रति पनि जोटुफले पूर्ण समर्थन जनाएको छ। बिना कुनै कारण रोकेर राखिएको उक्त तालिमले प्रशिक्षार्थीहरूको समय, आर्थिक लगानी र पेसामै गम्भीर असर पुर्‍याएको भन्दै जोटुफले तत्काल तालिम सुचारु गर्न माग गरेको छ।

जोटुफका प्रतिनिधिहरूले भनेका छन्, "२४ घण्टाभित्र NMA ले जोटुफसँग औपचारिक बैठकको आयोजना नगरे र तालिम सञ्चालनमा अग्रसरता नदेखाए हामी कडा भन्दा कडा आन्दोलनमा उत्रन बाध्य हुनेछौँ। आन्दोलनका क्रममा हुने जुनसुकै घटना र परिस्थितिको सम्पूर्ण जिम्मेवारी स्वयम् नेपाल पर्वतारोहण संघले लिनुपर्नेछ।"

पर्यटन श्रमिकहरूको हकहित र रोकिएका तालिमहरू यथाशीघ्र सञ्चालनका लागि दवाव दिन जोटुफले यो कदम चालेको जनाएको छ। जोटुफमा ५ वटा केन्द्रीय स्तरका ट्रेड युनियनहरु रहेका छन्। अखिल नेपाल पर्यटन मजदुर संघ, एकीकृत पर्यटन श्रमिक संघ, क्रान्तिकारी पर्यटन मजदुर संघ नेपाल, नेपाल पर्यटन श्रमिक संघ र समाजबादी पर्यटन ट्रेड युनियन नेपाल संगठनहरु जोटुफमा आबद्ध रहेका छन्।

धेरै पढिएको