NEWS DESK
नेपाल प्रिमियर लिग -एनपिएल क्रिकेट अन्तर्गत एलिमिनेटर खेलमा चितवन राइनोज विजयी भएको छ । काठमाडौँ गोर्खाजलाई ६१ रनले हराउँदै चितवन विजयी भएको हो ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०४ रन बनाएको थियो।
उसका लागि ओपनिङ ब्याटर कामिल मिशाराले शतकीय पारी खेले । उनले ५९ बलमा १० छक्का र पाँच चौकासहित अविजित १२० रनको पारी खेलेका हुन् ।
योसँगै मिशारा जारी एनपिएलमा शतकीय पारी खेल्ने दोस्रो ब्याटर बनेका छन् ।
यस्तै, कप्तान रवि बोपाराले अर्धशतकीय पारी खेले । उनले ४२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ५३ रनको पारी खेलेका हुन् ।
देव खनालले १५ बलमा दुई चौका र एक छक्कासहित १७ रन जोडे ।
अब चितवन दोश्रो क्वालिफायर बन्दै सुदूरपश्चिम रोयल्ससँग विहीबार खेल्नेछ । यी दुई टीमबाट विजयी भएको टोली फाइनलमा लुम्बिनी लायन्ससँग भिड्ने छ ।