NEWS DESK
कार्तिक २८, काठमाडौँ। सूचक प्रकाशन नेपालको आयोजनामा साहित्यकार दीपक भेटुवाल ‘दीपसागर’द्वारा लिखित समालोचनात्मक पुस्तक ‘बालसाहित्यमा जलेश्वरी श्रेष्ठ’ को विमोचन गरिएको छ। काठमाडौँको पुतलीसडकस्थित ग्रिनलिफ रेस्टुरेन्टमा शनिबार आयोजित विशेष समारोहमा सभ्य, भव्य र आत्मीय वातावरणका बीच उक्त कृति सार्वजनिक गरिएको हो।
सूचक प्रकाशनका संरक्षक सदस्य एवं साहित्यकार हिरण्यकुमारी पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली बालसाहित्यकी विशिष्ट स्रष्टा तथा वरिष्ठ आख्यानकार जलेश्वरी श्रेष्ठको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा बालसाहित्यका विशिष्ट स्रष्टा एवं अनुसन्धाता प्रमोद प्रधान, वरिष्ठ समालोचक तथा प्राज्ञ डा. ज्ञानु पाण्डे, बालसाहित्यकार डा. शैलेन्दु प्रकाश नेपाल, डा. छायादत्त न्यौपाने ‘बगर’, डा. नवराज रिजाललगायत साहित्यिक तथा शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
कार्यक्रमको सुरुवात अतिथिहरूको आसनग्रहण तथा दीप प्रज्वलनबाट गरिएको थियो। त्यसपछि पत्रकार जयराम बिडारीले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा गङ्गा खतिवडा, गङ्गाप्रसाद भेटवाल, माधव घिमिरे ‘अटल’ लगायतका वक्ताहरूले कृतिकार दीपक भेटुवाल ‘दीपसागर’लाई शुभकामना दिँदै कृतिको सफलताको कामना गर्नुभएको थियो।
सो अवसरमा वक्ताहरूले ‘बालसाहित्यमा जलेश्वरी श्रेष्ठ’ कृतिमाथि विभिन्न दृष्टिकोणबाट आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो। उहाँहरूले नेपाली बालसाहित्यमा जलेश्वरी श्रेष्ठको योगदान, सिर्जनात्मक विशेषता तथा साहित्यिक व्यक्तित्वको अध्ययन र मूल्याङ्कनका दृष्टिले यस कृतिको महत्त्वबारे चर्चा गर्नुभएको थियो। बालसाहित्यको विकास, विस्तार र अनुसन्धानका क्षेत्रमा यस्ता समालोचनात्मक कृतिले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरिएको थियो।
कार्यक्रममा कृतिकार दीपक भेटुवाल ‘दीपसागर’ले आफ्नो लेखनयात्रा, अध्ययन, अनुसन्धान र पुस्तक तयार पार्दाको अनुभव समेट्दै रचना गर्भ प्रस्तुत गर्नुभएको थियो। उहाँले लामो समयको अध्ययन र साधनापछि तयार भएको आफ्नो दशौँ कृति पाठकसमक्ष ल्याउन पाउँदा खुसी व्यक्त गर्दै पुस्तक प्रकाशन तथा विमोचनसम्म साथ, सहयोग र प्रेरणा प्रदान गर्ने सबैप्रति आभार प्रकट गर्नुभयो।
कार्यक्रमका सञ्चालक नवीन पल्लवले सहजीकरण गर्नुभएको उक्त समारोह दिउँसो २ बजेदेखि ४ बजेसम्म सञ्चालन भएको थियो। अन्त्यमा सभापति हिरण्यकुमारी पाठकले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।
विमोचन समारोहपछि कृतिकार दीपक भेटुवाल ‘दीपसागर’ले सामाजिक सञ्जालमार्फत कार्यक्रममा उपस्थित साहित्यकार, स्रष्टा, पत्रकार, शुभेच्छुक तथा साहित्यप्रेमीहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ। उहाँले पुस्तकको लोकार्पणलाई आफ्नो लामो अध्ययन, अनुसन्धान, लेखन र साधनाको यात्रामा प्राप्त माया, सद्भाव र हौसलाको अविस्मरणीय उत्सवका रूपमा लिएको बताउनुभएको छ।
उहाँले अग्रज साहित्यकारहरूको आशीर्वाद, समकालीन स्रष्टाहरूको साथ र शुभेच्छुकहरूको सद्भावले आफ्नो सिर्जनात्मक यात्रालाई थप जिम्मेवार र अर्थपूर्ण बनाएको उल्लेख गर्दै आगामी दिनमा अझ अध्ययनशील, जिम्मेवार र सिर्जनशील भएर साहित्यिक क्षेत्रमा सक्रिय रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।
नेपाली बालसाहित्यकी विशिष्ट स्रष्टा जलेश्वरी श्रेष्ठको साहित्यिक योगदान र व्यक्तित्वलाई समालोचनात्मक दृष्टिले प्रस्तुत गरिएको यस कृतिले बालसाहित्यको अध्ययन, अनुसन्धान र मूल्याङ्कनका क्षेत्रमा नयाँ विमर्श सिर्जना गर्ने अपेक्षा गरिएको छ।