NEWS DESK
लुम्बिनीले प्रस्तुत गरेको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै बिना विकेटको क्षतिमा पूरा गर्दै शानदार जित हासिल गर्यो । सुदूरपश्चिमका जर्ज मन्सेले आक्रामक ब्याटिङ गर्दै अविजित १२५ रनको शतकीय पारी खेल्नुभयो । उहाँले ५४ बलको सामना गर्दै १२ छक्का र आठ चौका प्रहार गर्नुभयो । अर्का ओपनर विनोद भण्डारीले २७ बलमा अविजित ३० रन जोड्दै मन्सेलाई उत्कृष्ट साथ दिनुभयो ।
लगातार तेस्रो पटक फाइनलमा पुगेको सुदूरपश्चिमले यसपटक उपाधि आफ्नो नाममा गर्न सफल भएको हो । च्याम्पियन बनेसँगै टोलीले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता लुम्बिनी लायन्सले ८० लाख रुपैयाँमा चित्त बुझाएको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । लुम्बिनीका दिलिप नाथले अविजित ३९, कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८, अलि शेखले २४ तथा डार्सी शर्टले २१ रन बनाउनुभयो ।
सुदूरपश्चिमका बलर स्कट कुगलेइनले चार ओभरमा २५ रन खर्चेर दुई विकेट लिनुभयो । हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र थरिन्दु रत्नायकेले समान एक विकेट लिनुभयो ।
लिग चरणमा शीर्ष स्थान हासिल गरेको लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई छ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । त्यसपछि दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको थियो ।
फाइनलमा प्रभावशाली प्रदर्शन गर्दै सुदूरपश्चिमले लुम्बिनीमाथि शानदार जित हासिल गरेसँगै एनपिएलको तेस्रो संस्करणको उपाधि आफ्नो नाममा गर्न सफल भएको हो ।