महिला उद्यमशीलता प्रवर्द्धनका लागि १५औँ विन कोप–विमेन्स क्राफ्ट व्यापार मेला साउन २९ देखि
NEWS DESK
Aug-07 तारिख 08:18 बेलुका

काठमाडौं, साउन २२ । महिला उद्यमशीलताको प्रवर्द्धन, बजार पहुँच विस्तार तथा व्यावसायिक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले १५औँ विन कोप–विमेन्स क्राफ्ट व्यापार मेला २०८३ आगामी साउन २९ देखि ३१ गते (१४–१६ अगस्ट २०२६) सम्म ललितपुरको सानेपास्थित इन्टरनेशनल क्लबमा आयोजना हुने भएको छ।

विन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र विमेन्स क्राफ्टको संयुक्त आयोजनामा हुने तीनदिने मेलाको औपचारिक उद्घाटन साउन २९ गते शुक्रबार बिहान ११ बजे ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

"उद्यम, नवप्रवर्तन र बजार पहुँचमार्फत महिला उद्यमशीलताको सशक्तीकरण" भन्ने मूल नारासहित आयोजना हुन लागेको मेलामा देशभरका महिला उद्यमी, सहकारी संस्था, साना तथा मझौला उद्यम (एसएमई), हस्तकला व्यवसायी, स्टार्टअप, वित्तीय संस्था, विकास साझेदार, व्यावसायिक संघ–संस्था तथा सरकारी निकायहरूको सहभागिता रहनेछ।

मेलामा महिला उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका सामग्री, कपडा तथा परिधान, फेल्टका सामग्री, परम्परागत हस्तकला, गृह सजावटका सामग्री, प्राकृतिक रेशा (नेचुरल फाइबर) बाट निर्मित वस्तु, धातुजन्य हस्तकला, जडीबुटी तथा प्राकृतिक उत्पादन, कृषि तथा कृषि आधारित उत्पादन, प्रशोधित खाद्य सामग्री, गहना, फेसन सामग्री (एसेसरिज) लगायत नवीन तथा सिर्जनशील उत्पादनहरूको प्रदर्शनी गरिनेछ।

आयोजकका अनुसार प्रदर्शनीसँगै व्यवसाय–व्यवसाय (बी–टु–बी) तथा व्यवसाय–उपभोक्ता (बी–टु–सी) नेटवर्किङ, उत्पादन प्रवर्द्धन, क्रेता–विक्रेता अन्तरक्रिया तथा जानकारी आदान–प्रदानका कार्यक्रमहरू पनि सञ्चालन गरिनेछन्। यस्ता गतिविधिले महिला उद्यमीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै दिगो व्यवसाय विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

व्यापार मेलामा ७० भन्दा बढी प्रदर्शक सहभागी हुने तथा करिब ५० हजार आगन्तुकले अवलोकन गर्ने आयोजकको अनुमान छ। मेलाबाट एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ।

यस वर्षको मेलालाई जेजीआई डिस्ट्रिब्युसन प्रालि, सिद्धार्थ बैंक, नेपाल टेलिकम, इन्टरनेशनल क्लब, गोर्खा बेभरेज, नीमा एजुकेशन फाउन्डेशन, मनाङ भ्याली, सूर्य नेपाल तथा भ्याली अर्नामेन्ट्सले प्रायोजन गरेका छन्।

आयोजकले सरकारी निकाय, कूटनीतिक नियोग, व्यावसायिक महासंघ तथा संघ-संस्था, विकास साझेदार, निजी क्षेत्र, सहकारी संस्था, सञ्चारमाध्यम तथा सर्वसाधारणलाई महिला उद्यमशीलता प्रवर्द्धन गर्ने यस राष्ट्रिय कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।

धेरै पढिएको