एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुने, अनावश्यक सञ्चय नगर्न सरकारको आग्रह
NEWS DESK
Aug-05 तारिख 06:16 बिहान

काठमाडौं l उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सामान्य अवस्थामा पुग्ने जनाएको छ। मन्त्रालयले उपभोक्तालाई हल्ला वा भ्रमपूर्ण सूचनाको पछि नलाग्न र आवश्यक परिमाणमा मात्र ग्यास खरिद गर्न आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले मङ्गलबार जारी गरेको विज्ञप्तिअनुसार गत वर्षको यही अवधिको तुलनामा अहिले नियमित माग धान्न सक्नेभन्दा बढी परिमाणमा एलपी ग्यास आयात तथा वितरण भइरहेको छ।

विज्ञप्तिमा ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरी आपूर्ति तथा वितरण प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने काम भइरहेको उल्लेख गरिएको छ।

मन्त्रालयका अनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई थप कडाइका साथ अघि बढाएको छ। साथै, नेपाल आयल निगम र ग्यास उद्योगीसँगको सहकार्यमा ग्यासको आयात, भण्डारण तथा वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउने सुधारात्मक पहल पनि सुरु गरिएको छ।

सरकारले वैकल्पिक ग्यास सिलिन्डर नभएका उपभोक्तालाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन ग्यास उद्योगी तथा वितरकलाई निर्देशन दिएको छ।

मन्त्रालयले कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, कानुनविपरीत कारोबार गर्ने वा उपभोक्तालाई अनावश्यक सास्ती दिने व्यक्ति तथा संस्थाविरुद्ध प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि दिएको छ।

धेरै पढिएको