प्रधानमन्त्रीसँग अर्गानिक कृषि प्रवर्द्धनबारे छलफल, रासायनिक मलको सट्टा जैविक कृषि प्रवर्द्धनमा जोड
NEWS DESK
Jul-23 तारिख 09:36 बेलुका

काठमाडौं, साउन ७ । अर्गानिक कृषि क्षेत्रमा सक्रिय विभिन्न संघसंस्था तथा उद्यमीहरूले सम्माननीय प्रधानमन्त्रीसँग भेट गरी नेपालमा अर्गानिक कृषि प्रवर्द्धन, उत्पादन, प्रमाणीकरण, बजारीकरण तथा निर्यातलाई प्रभावकारी बनाउन आवश्यक नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आग्रह गरेका छन्।

अर्गानिक एसोसिएसन नेपाल, हिमालयन अर्थोडोक्स टी प्रोड्युसर एसोसिएसन नेपाल, हिमालयन टी मार्केटिङ कोअपरेटिभ (हिमकोप) लगायतका संस्थाका प्रतिनिधिहरूले प्रधानमन्त्रीसमक्ष रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले भूमि, किसान, उपभोक्ता तथा वातावरणमा गम्भीर असर परेको भन्दै अब नेपाललाई क्रमशः अर्गानिक कृषितर्फ रूपान्तरण गर्ने स्पष्ट रणनीति आवश्यक रहेको बताएका हुन्।

भेटका क्रममा प्रतिनिधिहरूले चालु आर्थिक वर्षको बजेटमा रासायनिक मल खरिदका लागि ३२ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको तर प्राङ्गारिक तथा हरियो मलका लागि जम्मा ३६ करोड रुपैयाँ मात्र छुट्याइएकोप्रति ध्यानाकर्षण गराउँदै यसलाई पुनःसन्तुलन गर्नुपर्ने धारणा राखे। उनीहरूले यही बजेटलाई प्रभावकारी रूपमा परिचालन गर्न सके सम्पूर्ण मुलुकलाई अर्गानिक कृषि प्रणालीतर्फ लैजान सकिने विश्वास व्यक्त गरे।

टोलीले अर्गानिक मल उत्पादन तथा खरिदमा रासायनिक मलसरह सरकारी सुविधा उपलब्ध गराउन, अन्तर्राष्ट्रिय अर्गानिक प्रमाणीकरणमा दिँदै आएको ७५ प्रतिशतसम्मको अनुदान पुनः सञ्चालन गर्न तथा नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणीकरण संस्था स्थापना गर्नुपर्ने माग पनि अघि सारे।

यस्तै, अर्गानिक चिया, कफी, मसला तथा अन्य कृषि उत्पादनको निर्यातमा कम्तीमा १० प्रतिशत प्रोत्साहन अनुदान उपलब्ध गराउन, विगतदेखि भुक्तानी हुन बाँकी रहेका निर्यात अनुदान यथाशीघ्र उपलब्ध गराउन तथा अर्गानिक खेतीसम्बन्धी तालिम, जैविक मल तथा जैविक विषादी उत्पादन र प्रयोगलाई व्यापक बनाउने कार्यक्रम सञ्चालन गर्न पनि सरकारलाई आग्रह गरिएको छ।

प्रतिनिधिहरूले सरकारी विद्यालय, अस्पताल, नेपाली सेना, नेपाल प्रहरी तथा अन्य सरकारी निकायमा नेपाली अर्गानिक उत्पादन खरिदलाई प्राथमिकता दिन, छुट्टै अर्गानिक कृषि ऐन निर्माण गर्न, सिँचाइ, जल संरक्षण, माटो सुधार तथा अर्गानिक चिया र मसलाको अन्तर्राष्ट्रिय ब्रान्डिङमा विशेष कार्यक्रम ल्याउन पनि सरकारसँग अनुरोध गरेका छन्।

अर्गानिक एसोसिएसन नेपालकी महासचिव शान्ता बास्कोटा कोइरालाले नेपालमा अर्गानिक कृषि विस्तारका लागि नीतिगत प्रतिबद्धता मात्रै पर्याप्त नभई त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताइन्।

उनले भनिन्, "नेपालमा अर्गानिक कृषिको सम्भावना अत्यन्त ठूलो छ। किसान, उद्यमी र निजी क्षेत्र सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा तयार छन्। अब अर्गानिक उत्पादनलाई राष्ट्रिय प्राथमिकतामा राखेर उत्पादनदेखि प्रमाणीकरण, बजार व्यवस्थापन र निर्यातसम्मको एकीकृत नीति कार्यान्वयन गर्न सके यसले किसानको आय वृद्धि गर्नुका साथै नेपालको कृषि र वातावरण दुवैलाई दीर्घकालीन रूपमा लाभ पुग्नेछ।"

प्रधानमन्त्रीसँगको भेटमा अर्गानिक एसोसिएसन नेपालका अध्यक्ष दीपक प्रकाश बास्कोटा, हिमालयन टी मार्केटिङ कोअपरेटिभ (हिमकोप) का अध्यक्ष कमल मैनाली, गोरखा टी इस्टेटका अध्यक्ष उदय चापागाईं, अर्गानिक एसोसिएसनकी महासचिव शान्ता बास्कोटा कोइराला तथा अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रिज नेपालका अध्यक्ष परशुराम आचार्य सहभागी थिए।

धेरै पढिएको