वैकल्पिक व्यवस्थाबाट खाना पकाउने ग्यास आपूर्ति सहज बनाउँदै निगम
NEWS DESK
Sep-05 तारिख 06:12 बिहान

काठमाडौं । प्राकृतिक विपद्का कारण प्रमुख राजमार्ग अवरुद्ध भएपछि खाना पकाउने एलपिजी ग्यासको आपूर्तिमा समस्या नआओस् भन्ने उद्देश्यले वैकल्पिक व्यवस्थामार्फत ग्यास उपत्यकामा भित्र्याउने व्यवस्था मिलाइएको छ।

राजमार्ग अवरुद्ध हुँदा धादिङ जुगेखोलास्थित एलपिजी प्लान्टमा ग्यास आपूर्तिमा प्रत्यक्ष असर परेको छ। प्लान्टसम्म ग्यास बोकेका बुलेट पुग्न नसक्ने अवस्था सिर्जना भएपछि सहज स्थानमा रहेका निजी क्षेत्रका ग्यास प्लान्टसँग सहकार्य गरी खाली सिलिन्डरमा ग्यास भर्ने व्यवस्था गरिएको हो। यसरी भरिएका ग्यास सिलिन्डरलाई वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं उपत्यकामा ल्याउने प्रबन्ध मिलाइएको जनाइएको छ।

विषम प्राकृतिक विपद्को अवस्थालाई ध्यानमा राख्दै उपभोक्तालाई खाना पकाउने ग्यासको अभाव हुन नदिन यस्तो वैकल्पिक नीति अपनाइएको हो। आपूर्ति व्यवस्थालाई निरन्तरता दिन निजी क्षेत्रका विभिन्न ग्यास उद्योगसँग समन्वय गरी आवश्यक व्यवस्थापन गरिएको बताइएको छ।

यद्यपि, नेपाल आयल निगमबाट सीमित कोटा अर्थात् पीडीओ अनुमति प्राप्त हुने भएकाले पर्याप्त मात्रामा ग्यास बिक्री–वितरण गर्न चुनौती रहेको छ। भारतीय आयल कर्पोरेशनसँग कुल तीन हजार २५ वटा ग्यास बुलेटका लागि सम्झौता भएकोमध्ये करिब दुई प्रतिशत अर्थात् ५३ वटा बुलेट मात्र यसतर्फ परेको जनाइएको छ।

हाल मासिक करिब ५५ हजारदेखि ६० हजार सिलिन्डर ग्यास खपत भइरहेको अवस्थामा सीमित कोटाका कारण मागअनुसार आपूर्ति विस्तार गर्न कठिनाइ भइरहेको छ। तर उपलब्ध ग्यासलाई व्यवस्थित रूपमा वितरण गर्दै उपभोक्तालाई सकेसम्म सहज आपूर्ति उपलब्ध गराउने प्रयास जारी रहेको जनाइएको छ।

पछिल्लो समय विभिन्न कारण देखाउँदै निजी क्षेत्रका ग्यास कम्पनीबाट आपूर्ति प्रभावित हुने अवस्था देखिए पनि कुपन प्रणालीमार्फत ग्यास बिक्री–वितरणलाई व्यवस्थित र सहज बनाउने प्रयास भइरहेको छ। प्राकृतिक विपद् र यातायात अवरोधका कारण सिर्जित चुनौतीका बाबजुद उपभोक्तालाई ग्यासको अभाव हुन नदिने गरी वैकल्पिक उपाय अवलम्बन गरिएको बताइएको छ।

धेरै पढिएको