NEWS DESK
जीवनयापनको बढ्दो लागत, सरकारको भन्सार शुल्क नीति तथा इरानसँगको युद्धप्रति जनतामा बढेको असन्तुष्टि निर्वाचनमा डेमोक्रेटको पक्षमा देखिएको बताइएको छ।
निर्वाचन परिणाम सार्वजनिक भएपछि राष्ट्रपति ट्रम्पले त्यसलाई स्वीकार गर्ने बताएका छन्। उनले डेमोक्रेटहरूले प्रभावकारी चुनावी अभियान सञ्चालन गरेको भन्दै प्रशंसा गरे पनि रिपब्लिकनको पराजयलाई आफ्नो व्यक्तिगत हारका रूपमा लिन अस्वीकार गरेका छन्।
डेमोक्रेटहरूले मेन, टेक्सास, कन्सास, आयोवा, दक्षिण क्यारोलिना र उत्तर क्यारोलिनालगायतका राज्यमा उल्लेखनीय सफलता प्राप्त गरेका छन्। मेनमा ट्रोय ज्याक्सनले रिपब्लिकन सिनेटर सुसान कोलिन्सलाई पराजित गरेका छन्। त्यस्तै, जर्जियामा केइशा लान्स बटम्स अमेरिकी इतिहासमा पहिलो अश्वेत महिला गभर्नर निर्वाचित भएकी छन्।
कङ्ग्रेसका दुवै सदनमा बहुमत प्राप्त गरेसँगै डेमोक्रेटहरूले ट्रम्प प्रशासनका नीति तथा निर्णयमाथि निगरानी बढाउन सक्नेछन्। विशेषगरी इरान युद्ध, आप्रवासन नीति र भ्रष्टाचारसम्बन्धी विषयमा अनुसन्धान अघि बढाउने तथा सरकारी नियुक्ति र विधेयक प्रक्रियामा प्रभाव पार्ने उनीहरूको क्षमता बढेको छ।
प्रतिनिधिसभामा डेमोक्रेटिक नेता हाकिम जेफ्रीज आगामी जनवरीमा अमेरिकी इतिहासकै पहिलो अश्वेत सभामुख बन्न सक्ने सम्भावनासमेत देखिएको छ।
यता, ट्रम्पले आफू उम्मेदवार बनेको भए रिपब्लिकनले ठूलो मतान्तरसहित जित्ने दाबी गरेका छन्। उनले डेमोक्रेटहरूले पारित गर्ने विधेयकमा राष्ट्रपतीय भिटो प्रयोग गर्न सक्ने चेतावनी पनि दिएका छन्।
निर्वाचन परिणामसँगै राष्ट्रपति ट्रम्प र कङ्ग्रेसबीच आगामी दुई वर्ष नीतिगत तथा राजनीतिक टकराव बढ्ने सङ्केत देखिएको छ।