NEWS DESK
काठमाडौं । पोखरा एभेन्जर्समाथि आठ विकेटको प्रभावशाली जित निकाल्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अंकतालिकामा शीर्ष स्थानमा पुगेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा मंगलबार भएको खेलमा पोखराले दिएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमै दुई विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीको जितमा कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ४७ रन बनाए । उनले ३२ बलको सामना गर्दै तीन चौका र तीन छक्का प्रहार गरे । त्यस्तै, निरोश डिक्वेलाले अविजित २७ रनको योगदान दिए । रोहित र डिक्वेलाबीच भएको ७७ रनको साझेदारीले लुम्बिनीको जित सहज बनाएको थियो । ओपनर डार्सी सर्टले १३ रन जोडे ।
यस जितसँगै लुम्बिनीले तीन खेलबाट दुई जितसहित पाँच अंक पुर्याएको छ । वर्षाका कारण एक खेल रद्द भएपछि टोलीले अंक बाँडेको थियो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९७ रन बनाएको थियो । पोखराका लागि चमिका करुणरत्नेले सर्वाधिक २५ रन बनाए । कप्तान कुशल भुर्तेलले १४, मेहदी हसनले १३ तथा किरण ठगुन्नाले १२ रन जोडे ।
पोखराको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा लुम्बिनीका रुबेन ट्रम्पलमेनले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा १६ रन खर्चिएर तीन विकेट लिए । तिलक भण्डारीले दुई विकेट हात पारे भने शेर मल्ल, अभिनाश गौतम र कप्तान रोहितकुमार पौडेलले एक–एक विकेट लिए ।
पोखराका विपिन खत्रीले लुम्बिनीको इनिङ्समा एक विकेट लिए ।
प्रतियोगितामा पोखराको यो लगातार तेस्रो हार हो । यसअघि टोली सुदूरपश्चिम रोयल्ससँग ६ विकेट र जनकपुर बोल्ट्ससँग नौ रनले पराजित भएको थियो । लगातारको हारसँगै पोखरा अंकविहीन रहँदै तालिकाको अन्तिम स्थानमा छ । यसले टोलीको प्लेअफ यात्रा थप कठिन बनाएको छ ।