आज कुकुर तिहार मनाइँदै
NEWS DESK
Nov-08 तारिख 06:06 बिहान

काठमाडौं। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कुकुर तिहार श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन मनाइने कुकुर तिहारमा कुकुरलाई यमराजको दूतका रूपमा पूजा गर्ने धार्मिक परम्परा रहेको छ।

यस दिन घरपालुवा तथा सडकमा रहेका कुकुरलाई फूलमाला लगाइदिने, टीका लगाउने र मिठामिठा खानेकुरा खुवाएर सम्मान गर्ने गरिन्छ। कुकुरलाई मानव समाजको इमानदार र विश्वासी साथीका रूपमा समेत लिने गरिन्छ।

धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको सन्देशवाहक तथा रक्षकका रूपमा लिइन्छ। कुकुरको पूजा गर्दा यमराज प्रसन्न हुने र अकाल मृत्युको भयबाट मुक्ति मिल्ने विश्वास रहिआएको छ।

हिन्दू धर्मशास्त्रमा कुकुरलाई भैरवको वाहनका रूपमा समेत उल्लेख गरिएको छ। महाभारतमा स्वर्गारोहणका क्रममा युधिष्ठिरले आफ्नो साथमा रहेको कुकुरलाई नछाडेको प्रसङ्गले पनि कुकुरको निष्ठा र स्वामीभक्तिको महत्त्वलाई दर्शाउँछ।

तिहारको अवसरमा मनाइने कुकुर तिहारले पशुप्रति प्रेम, दया, करुणा र सहअस्तित्वको सन्देश दिने गरेको छ। यस दिन कुकुरको पूजा गरेर मात्र नभई वर्षभरि नै पशुपक्षीप्रति माया, संरक्षण र जिम्मेवारी देखाउनुपर्ने सन्देशसमेत यस पर्वले दिएको छ।

कुकुर तिहारसँगै तिहारको धार्मिक तथा सांस्कृतिक रौनक थप बढेको छ।

धेरै पढिएको