‘हेड एन्ड नेक क्यान्सर कार्यक्रम’ अघि बढाइएको छ : डा. सुदीप श्रेष्ठ, अध्यक्ष-नेपाल क्यान्सर अस्पताल
NEWS DESK
Aug-08 तारिख 03:24 बेलुका

काठमाडौं । नेपालमा नाक, कान तथा घाँटी (हेड एन्ड नेक) क्यान्सरको उपचारलाई थप व्यवस्थित, विशेषज्ञतामा आधारित र संस्थागत बनाउन नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले ‘हेड एन्ड नेक क्यान्सर कार्यक्रम’ अघि बढाएको अस्पतालका अध्यक्ष डा. सुदीप श्रेष्ठले बताएका छन्।

डा. श्रेष्ठले हेड एन्ड नेक क्यान्सरको उपचार एक दिन वा केही समयमै पूरा हुने उपचार नभई लामो समय लाग्ने भएकाले बिरामीलाई उपचारसँगै निरन्तर सहयोग, पुनर्स्थापना र मनोसामाजिक सहयोग आवश्यक पर्ने बताए।

उनले नेपालमा हेड एन्ड नेक क्यान्सरको उपचारमा अस्पतालको चिकित्सकीय टोलीले अन्तर्राष्ट्रिय स्तरको प्रविधि र विशेषज्ञताका साथ काम गरिरहेको उल्लेख गर्दै यस क्षेत्रमा थप सहयोग र सहकार्य आवश्यक रहेको बताए।

“जुन स्तरको काम अहिले नेपालमा हेड एन्ड नेक क्यान्सरका क्षेत्रमा हाम्रो अस्पतालको टोलीले गरिरहेको छ, त्यो स्वागतयोग्य छ। यसलाई अझ प्रभावकारी बनाउन सबैको सहयोग र सहकार्य आवश्यक छ,” डा. श्रेष्ठले भने।

उनका अनुसार पछिल्लो समय नेपालमा क्यान्सर उपचारका क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोग बढिरहेको छ। विश्वका विभिन्न मुलुकमा प्रयोग भइरहेका प्रविधिसँग नेपालमा भइरहेको उपचारलाई जोड्दै बिरामीलाई स्वदेशमै गुणस्तरीय सेवा उपलब्ध गराउने प्रयास भइरहेको उनले बताए।

डा. श्रेष्ठले हेड एन्ड नेक क्यान्सरको उपचारका लागि बिरामी विदेश जानुपर्ने बाध्यता कम गर्न नेपालमै आवश्यक विशेषज्ञता, प्रविधि र समन्वयात्मक उपचार प्रणाली विकास गर्नुपर्नेमा जोड दिए।

“नाक, कान र घाँटीको क्यान्सर भनेको एक दिनको उपचार होइन। यसमा महिनौँसम्म उपचार गर्नुपर्ने अवस्था आउन सक्छ। लामो समयसम्म उपचार र फलोअप आवश्यक पर्ने भएकाले बिरामी बाहिर गएर उपचार गर्दा आर्थिक तथा अन्य धेरै कठिनाइ भोग्नुपर्छ,” उनले भने।

यही अवस्थालाई ध्यानमा राखेर नेपाल क्यान्सर अस्पतालमा हेड एन्ड नेक क्यान्सरको उपचारलाई एउटा चिकित्सक वा एउटा विभागको सीमामा नराखी बहुविषयगत तथा टोलीगत उपचार प्रणालीका रूपमा विकास गर्न कार्यक्रम अघि बढाइएको डा. श्रेष्ठले बताए।

उनका अनुसार ‘हेड एन्ड नेक क्यान्सर कार्यक्रम’ अन्तर्गत क्यान्सरको रोकथाम, प्रारम्भिक पहिचान, विशेषज्ञ उपचार, उपचारपछि पुनर्स्थापना तथा मनोसामाजिक सहयोगलाई एकीकृत रूपमा अघि बढाइनेछ।

“उपचारको एउटा प्रक्रियालाई चिकित्सकको व्यक्तिगत प्रयासका रूपमा मात्र आकर्षक बनाउने होइन, ‘मात्र डाक्टर होइन, मलाई एउटा टिम चाहिन्छ’ भन्ने अवधारणालाई संस्थागत गर्न खोजिएको हो,” डा. श्रेष्ठले भने।

हेड एन्ड नेक क्यान्सरको उपचारमा विभिन्न विधाका विशेषज्ञबीच प्रभावकारी समन्वय आवश्यक हुने उनले बताए। क्यान्सरको प्रकृति र अवस्थाअनुसार शल्यक्रिया, रेडियोथेरापी, किमोथेरापीलगायतका उपचार विधि आवश्यक पर्न सक्ने भएकाले सम्बन्धित विशेषज्ञबीच समन्वय गरी बिरामीलाई एकीकृत उपचार सेवा उपलब्ध गराउने उद्देश्य रहेको उनले बताए।

त्यसैगरी उपचारपछि बिरामीको सामान्य जीवनमा फर्कनका लागि पुनर्स्थापना सेवामा पनि विशेष ध्यान दिइने डा. श्रेष्ठले बताए।

उनका अनुसार हेड एन्ड नेक क्यान्सरको उपचारपछि कतिपय बिरामीमा खाना खान, बोल्न, आवाज निकाल्न तथा श्वासप्रश्वासमा समस्या आउन सक्छ। यस्तो अवस्थामा उपचारपछि आवश्यक पर्ने पोषण, बोली तथा आवाजसम्बन्धी थेरापी र श्वासप्रश्वास पुनर्स्थापनालाई उपचारकै महत्वपूर्ण अंगका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ।

“उपचार गरिसकेपछि बिरामीका लागि खानपिन, बोली र आवाज तथा श्वासप्रश्वासको पुनर्स्थापनासहितका सेवाहरू आवश्यक हुन्छन्। उनीहरूलाई सकेसम्म सामान्य जीवनमा फर्काउन आवश्यक सहयोग उपलब्ध गराउनु हाम्रो जिम्मेवारी हो,” डा. श्रेष्ठले भने।

उनले क्यान्सर उपचार शारीरिक समस्यामा मात्र सीमित नहुने भएकाले बिरामी र उनीहरूको परिवारलाई मनोसामाजिक सहयोग पनि उत्तिकै आवश्यक रहेको बताए। उपचारका क्रममा र उपचारपछि बिरामीले भोग्नुपर्ने मानसिक तनाव, सामाजिक चुनौती तथा दैनिक जीवनमा देखिने समस्यालाई सम्बोधन गर्न मनोवैज्ञानिक तथा सामाजिक सहयोगको व्यवस्था पनि कार्यक्रमको महत्वपूर्ण पक्ष रहेको उनले बताए।

डा. श्रेष्ठले हेड एन्ड नेक क्यान्सरको रोकथाम तथा प्रारम्भिक पहिचानमा जनचेतना अभिवृद्धिलाई पनि प्राथमिकता दिनुपर्ने बताए। क्यान्सर प्रारम्भिक चरणमै पहिचान हुन सके उपचारको सम्भावना र प्रभावकारिता बढ्ने भएकाले जोखिममा रहेका व्यक्तिमा समयमै परीक्षण तथा विशेषज्ञ चिकित्सकसँग परामर्श गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ।

नेपालमा नै गुणस्तरीय क्यान्सर उपचारको वातावरण निर्माण गर्न अस्पताल, चिकित्सक, स्वास्थ्यकर्मी, बिरामी, परिवार तथा सम्बन्धित संस्थाबीच सहकार्य आवश्यक रहेको डा. श्रेष्ठले बताए।

उनले हेड एन्ड नेक क्यान्सरको उपचारलाई केवल रोग निको पार्ने प्रक्रियाका रूपमा नभई बिरामीलाई उपचारअघि, उपचारका क्रममा र उपचारपछि समेत निरन्तर साथ दिने समग्र स्वास्थ्य सेवाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

 

धेरै पढिएको