ब्रड पीक उद्धार अभियान जारी, जापानी क्याम्पबाट हेलिकोप्टरमार्फत शव ल्याउने तयारी
NEWS DESK
Aug-03 तारिख 06:31 बिहान

काठमाडौं – पाकिस्तानको ब्रड पीकमा हिमपहिरोमा परी ज्यान गुमाएका पर्वतारोहीहरूको शव उद्धार अभियान कठिन भू–भागबीच जारी रहेको छ। उद्धार टोलीले शवहरूलाई जापानी क्याम्पसम्म पुर्‍याएर त्यहाँबाट हेलिकोप्टरमार्फत तल ल्याउने योजना बनाएको छ।

पाकिस्तानको अल्पाइन क्लबका अनुसार स्थलमार्गबाट खटिएको उद्धार टोली करिब ५,७०० मिटरको उचाइमा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ रहेको स्थानमा पुगेको छ। सोही क्षेत्रमा थप तीनवटा शव फेला परेका छन्, तर ती शवहरूको पहिचान अझै खुल्न सकेको छैन।

स्कर्दु पुगेका वरिष्ठ नेपाली पर्वतारोही मिङ्मा डेभिड शेर्पाले सामाजिक सञ्जालमार्फत उद्धार कार्य अत्यन्त जोखिमपूर्ण अवस्थामा सञ्चालन भइरहेको जानकारी दिएका छन्। उनका अनुसार हाल शवलाई क्याम्प–१ सम्म ल्याइनेछ र त्यसपछि जापानी क्याम्पतर्फ सारिने योजना छ। मौसम र हिमालको अवस्था अनुकूल भए जापानी क्याम्पबाट हेलिकोप्टर प्रयोग गरी शव तल ल्याइनेछ।

उनले उद्धार अभियानको प्रमुख उद्देश्य दिवंगत पर्वतारोहीहरूको शव सुरक्षित रूपमा उद्धार गरी सम्मानपूर्वक परिवारसम्म पुर्‍याउनु रहेको उल्लेख गर्दै अभियानमा संलग्न सम्पूर्ण उद्धार टोलीको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिइएको बताएका छन्।

उद्धारको पहिलो चरणमा अत्यन्त भीरालो तथा प्राविधिक रूपमा जटिल भू–भाग पार गर्दै शवलाई क्याम्प–१ सम्म बोकेर ल्याइनेछ। उच्च क्षेत्रमा थप हिमपहिरोको जोखिम र प्रतिकूल भौगोलिक अवस्थाका कारण घटनास्थलबाट सीधा हेलिकोप्टर प्रयोग गर्ने विकल्प उपयुक्त नरहेको उद्धार टोलीले जनाएको छ।

यदि मौसम अनुकूल रह्यो र थप हिमपहिरो आएन भने सोमबारसम्म शव जापानी क्याम्पमा पुर्‍याइनेछ। त्यसपछि पाकिस्तानी सेनाको उड्डयन शाखाका हेलिकोप्टरमार्फत शव र उद्धार टोलीलाई सुरक्षित रूपमा तल ल्याउने तयारी गरिएको छ।

यसअघि निम्सदाइ फाउन्डेसनले शनिबार सार्वजनिक गरेको आधिकारिक वक्तव्यमा ब्रड पीकमा गएको हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को निधन भएको पुष्टि गरेको थियो। फाउन्डेसनले सोही दुर्घटनामा अभियानका अन्य सदस्यहरूको पनि ज्यान गएको जनाएको थियो।

डन पत्रिका तथा आधिकारिक विवरणअनुसार दुर्घटना बिहीबार दिउँसो करिब ६,६०० मिटरको उचाइमा भएको थियो। ८,०४७ मिटर अग्लो ब्रड पीक आरोहण गरिरहेको १० सदस्यीय टोलीसँग बिहीबार बिहान सम्पर्क विच्छेद भएको थियो र सोही दिन साँझ ठूलो हिमपहिरो गएको जानकारी सार्वजनिक भएको थियो।

यसैबीच नेपाल सरकारले पनि दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै निर्मल पुर्जा ‘निम्स दाइ’सहित नेपाली आरोहीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा तथा अन्तर्राष्ट्रिय आरोहण टोलीका सदस्यहरूको निधनले पर्वतारोहण क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ।

मन्त्रालयले कठिन परिस्थितिमा खोज तथा उद्धारमा खटिएका पाकिस्तानी र नेपाली उद्धार टोलीको साहसको प्रशंसा गर्दै हालसम्म नेपाली आरोही पुरबहादुर गुरुङ र ग्यालु शेर्पाको शव फेला परिसकेको तथा अन्य शवको खोजी जारी रहेको जनाएको छ। साथै, नेपाली आरोहीहरूको शव स्वदेश फिर्ता ल्याउन इस्लामाबादस्थित नेपाली दूतावासमार्फत आवश्यक समन्वय भइरहेको पनि मन्त्रालयले जनाएको छ।

धेरै पढिएको