NEWS DESK
महोत्तरी, साउन १८ – गृहमन्त्री सुधन गुरुङले महोत्तरीको मटिहानी नगरपालिकाअन्तर्गत पर्ने मटिहानी–मधवापुर नेपाल–भारत सीमा क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ।
आइतबार सीमा क्षेत्रमा पुग्नुभएका गृहमन्त्री गुरुङले सीमास्तम्भहरूको अवस्थाको अवलोकन गर्दै सीमा सुरक्षा, आवतजावतको व्यवस्थापन तथा सीमाको समग्र अवस्थाबारे जानकारी लिनुभएको हो।
निरीक्षणका क्रममा उहाँले सीमा सुरक्षामा खटिएका सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गर्दै सीमामा देखिएका चुनौती, अवैध गतिविधि नियन्त्रणका उपाय तथा सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा आवश्यक सुझाव लिनुभएको थियो।
त्यसपछि गृहमन्त्री गुरुङले मटिहानीस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी)को निरीक्षण गरी सुरक्षा अवस्थाबारे जानकारी लिनुभयो। उहाँले सीमा सुरक्षालाई अझ मजबुत बनाउन सुरक्षा निकायबीच प्रभावकारी समन्वय, उच्च सतर्कता र कडाइका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो।
मधेसका केही जिल्लामा पछिल्लो समय दुई समुदायबीच उत्पन्न तनावका बीच गृहमन्त्री गुरुङले धार्मिक सद्भावको सन्देश दिँदै मटिहानीस्थित ऐतिहासिक लक्ष्मीनारायण मठमा पूजा–अर्चना गर्नुभयो। साथै उहाँले पीरबाबा मजारमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।
मटिहानी आगमनका अवसरमा गृहमन्त्री गुरुङलाई नगरप्रमुख हरिप्रसाद मण्डल, महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव तथा स्थानीय अधिकारीहरूले स्वागत गरेका थिए।