दीपमाला ढकाल बनिन् मिस नेपाल-२०२६
NEWS DESK
Aug-02 तारिख 06:39 बिहान

काठमाडौं l मिस नेपाल २०२६ को ताज दीपमाला ढकालले जितेकी छन्। द हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार सम्पन्न ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै उनले प्रतिष्ठित उपाधि आफ्नो नाममा लेखाएकी हुन्।

यस वर्षको प्रतियोगितामा कसिस् सुब्बाले मिस नेपाल कस्मो–२०२६ तथा आर्या निशातले मिस नेपाल इन्टरनेसनल–२०२६ को उपाधि जितेका छन्।

नवमिस नेपाल दीपमाला ढकाल विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरक (BlackRock) मा इन्भेस्टमेन्ट स्ट्र्याटेजिस्टका रूपमा कार्यरत छन्। उनी ब्ल्याक बेल्ट तेक्वान्दो खेलाडी, रनवे मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक (होस्ट) तथा म्याराथन धाविकाका रूपमा समेत परिचित छन्।

सामाजिक क्षेत्रमा पनि सक्रिय ढकाल हाल नेपाल क्यान्सर अस्पतालकी गुडविल एम्बासडर हुन्। उनले मिस वर्ल्डको अन्तर्राष्ट्रिय मञ्चमार्फत क्यान्सरसम्बन्धी जनचेतना फैलाउने आफ्नो अभियानलाई विश्वव्यापी बनाउने लक्ष्य लिएको बताएकी छन्।

ढकालको परिवार र मिस नेपालको इतिहासबीच पनि विशेष सम्बन्ध रहेको छ। उनकी आमाले सन् १९९४ मा आयोजित पहिलो मिस नेपाल प्रतियोगितामा प्रतिस्पर्धा गरेकी थिइन्।

धेरै पढिएको