NEWS DESK
‘निम्स दाइ फाउन्डेसन’ र ‘एलिट एक्सपिडिसन’ले आइतबार सामाजिक सञ्जालमार्फत सबै बेपत्ता आरोहीको ज्यान गएको जानकारी दिएका हुन्। हिमपहिरोपछि चारजनाको शव शुक्रबार फेला परेको थियो भने अन्य छ जना बेपत्ता थिए।
मृत्यु हुने नेपाली आरोहीमा म्याग्दीको दानामा जन्मिएका पूर्वब्रिटिस गोर्खा निर्मल पुर्जा, पुरबहादुर गुरुङ, निमा शेर्पा, किलीपेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पा रहेका छन्। उनीहरूमध्ये पुरबहादुर गुरुङ गोरखाका, किलीपेम्बा शेर्पा दोलखाका, ग्यालु शेर्पा ओखलढुङ्गाका तथा निमा शेर्पा र नवाङ थिन्डु शेर्पा सङ्खुवासभाका बासिन्दा हुन्।
त्यसैगरी, दुर्घटनामा पाकिस्तानका सोहेल शाखी, चीनका वाङ झोङ, ओमानकी नादिरा अहमद र अमेरिकाकी म्यालोरी गेइसको पनि मृत्यु भएको छ।
प्रारम्भिक जानकारीअनुसार हिमपहिरोले आरोहीहरूलाई करिब छ हजार मिटरभन्दा माथिको उचाइबाट झन्डै ८०० मिटर तलसम्म बगाएको थियो। प्रतिकूल मौसमका कारण तत्काल उद्धार तथा खोजी कार्य सञ्चालन गर्न कठिनाइ भएको बताइएको छ।
सन् २०१९ मा निर्मल पुर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिना ६ दिनमै आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको थियो। उहाँ पर्वतारोहण क्षेत्रमा विभिन्न ऐतिहासिक उपलब्धिका कारण अन्तर्राष्ट्रिय रूपमा परिचित हुनुहुन्थ्यो।
घटनापछि पुर्जाका व्यावसायिक सहकर्मी तथा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु (डेभिड) शेर्पा शुक्रबार नै पाकिस्तान प्रस्थान गर्नुभएको थियो।