NEWS DESK
काठमाडौं, साउन १५ । वाईसिएल नेपालका केन्द्रीय सचिव धिरज उपरकोटीले पछिल्ला केही दिनदेखि तराई–मधेसका विभिन्न क्षेत्रमा देखिएको धार्मिक तथा सामुदायिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता, धार्मिक सद्भाव र शान्ति कायम गर्न सबै राजनीतिक दल, बौद्धिक वर्ग, युवा तथा आम नागरिकलाई संयमता अपनाउन हार्दिक अपिल गरेका छन्।
शनिबार जारी गरेको सार्वजनिक अपिलमा उपरकोटीले धार्मिक तथा सामुदायिक हिंसाका घटनाबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक भएकाले यसको वास्तविक शक्ति विविधताबीचको एकतामा रहेको उल्लेख गरेका छन्। कुनै पनि धर्म, जाति, भाषा वा संस्कृतिका नाममा घृणा, अपमान र हिंसालाई कुनै पनि बहानामा स्वीकार गर्न नसकिने उनको भनाइ छ।
उपरकोटीले सबैभन्दा पहिले नेपालीहरू मानव र त्यसपछि नेपाली नागरिक भएको उल्लेख गर्दै धर्म, जाति, भाषा वा संस्कृतिको भिन्नताभन्दा माथि राष्ट्रिय एकतालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्। सबै नागरिकको आस्था फरक भए पनि राष्ट्रियता एउटै भएको र सबैले शान्तिपूर्ण तथा सम्मानजनक समाजमा बाँच्न चाहने भएकाले सामाजिक सद्भाव कायम राख्नुपर्नेमा उनले जोड दिएका छन्।
उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म मान्ने, अभ्यास गर्ने र संरक्षण गर्ने मौलिक अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै धर्मनिरपेक्ष राज्यले सबै धर्मप्रति समान व्यवहार गर्दै सबै नागरिकको सुरक्षा, अधिकार र सम्मान सुनिश्चित गर्नुपर्ने बताएका छन्।
वर्तमान संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै उपरकोटीले नेपाल सरकारसँग तत्काल सर्वदलीय बैठक बोलाउन आग्रह गरेका छन्। उनले सबै राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, बुद्धिजीवी, मानवअधिकारकर्मी तथा सरोकारवालाबीच व्यापक संवाद र समन्वयमार्फत तनाव समाधानका लागि प्रभावकारी पहल गर्न सरकारसँग माग गरेका छन्। साथै कानुनको निष्पक्ष कार्यान्वयन गर्दै दोषीलाई कानुनी दायरामा ल्याउने र निर्दोष नागरिकको सुरक्षा सुनिश्चित गर्ने दायित्व राज्यले दृढतापूर्वक निर्वाह गर्नुपर्ने उनको भनाइ छ।
राजनीतिक मतभेद र सरकारका कामकारबाहीप्रति फरक धारणा हुन सक्ने भए पनि राष्ट्रको सामाजिक सद्भाव र राष्ट्रिय एकतामाथि चुनौती उत्पन्न भएको अवस्थामा सम्पूर्ण नेपाली एकजुट हुनुपर्ने समय आएको उपरकोटीले बताएका छन्। अहिलेको मुख्य प्राथमिकता धार्मिक तथा सामुदायिक सद्भाव कायम गर्नु, हिंसा रोक्नु र नागरिकमा विश्वास पुनःस्थापित गर्नु रहेको उनको धारणा छ।
उनले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, राजनीतिक दल, बौद्धिक समुदाय र युवालाई अफवाह, घृणात्मक अभिव्यक्ति तथा उक्साहटबाट टाढा रहन आग्रह गर्दै संयमता अपनाउन, कानुनको सम्मान गर्न तथा एकअर्काको धर्म, संस्कृति र आस्थाको सम्मान गर्न अपिल गरेका छन्।
"घृणा होइन सद्भाव फैलाऔँ, हिंसा होइन संवाद रोजौँ र विभाजन होइन राष्ट्रिय एकता बलियो बनाऔँ," भन्दै उपरकोटीले शान्त, सुरक्षित, समृद्ध र एकताबद्ध नेपाल निर्माणका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन्।