NEWS DESK
राहदानी भ्रष्टाचार प्रकरणमा विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित पाँच जना प्रतिवादीलाई धरौटीमा रिहा गर्दै तारिखमा राख्न आदेश दिएको छ।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार उक्त आदेश जारी गरेको हो।
अदालतको आदेशअनुसार महानिर्देशक तीर्थराज अर्याल र ठेकेदार पक्षका नेपाल एजेन्ट मणिन्द्रराज मल्लसँग जनही पाँच लाख रुपैयाँ, विभागका निर्देशक सुनिलकुमार केसीसँग चार लाख रुपैयाँ तथा कर्मचारीहरू सोमेश थापा र विपीन प्रसाईंसँग जनही तीन लाख रुपैयाँ धरौटी माग गरिएको छ। धरौटी बुझाएपछि उनीहरूलाई तारिखमा राखेर मुद्दाको थप सुनुवाइ अघि बढाइनेछ।