पार्किङमा राखिएको माइक्रो चोरी, दुई जना पक्राउ
NEWS DESK
Nov-23 तारिख 06:39 बिहान • आज

काठमाडौं । काठमाडौंमा पार्किङ गरी राखिएको माइक्रोबस चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चोरी भएको माइक्रोबस बरामद गर्नुका साथै घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल काठमाडौंको कलंकी बस्ने ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुर घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने १८ वर्षीय विशाल लामा रहेका छन्।

प्रहरीका अनुसार गत कात्तिक २९ गते साँझ ७ बजेर ४५ मिनेटको समयमा नागार्जुन नगरपालिका–४ बाफलस्थित मनमती करिडोर सामुदायिक भवन नजिकको खाली जग्गामा पार्किङ गरी राखिएको बा १ ज ९८०५ नम्बरको माइक्रो गाडी चोरी भएको सूचना प्राप्त भएको थियो।

सूचना प्राप्त भएपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले खोजी तथा अनुसन्धान अघि बढाएको थियो। खोजतलासका क्रममा मंसिर २ गते कलंकीबाट चोरी भएको माइक्रो गाडी फेला पारिएको प्रहरीले जनाएको छ। सोही दिन स्वयम्भूस्थित बुद्धपार्कबाट चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो।

पक्राउ परेका दुवै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

धेरै पढिएको