NEWS DESK
काठमाडौं, साउन ७ । अभिभावक संघ नेपाल, केन्द्रीय समितिले निजी शिक्षण संस्थामा अध्ययन गर्ने विद्यार्थीमाथि ३ प्रतिशत समता शुल्क नलगाउने नेपाल सरकारको निर्णयको स्वागत गर्दै यसबाट देशभरका अभिभावकलाई राहत पुगेको जनाएको छ।
संघका अध्यक्ष केशव पुरीद्वारा जारी प्रेस वक्तव्यमा आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी शिक्षण संस्थाका विद्यार्थीको शुल्कमा ३ प्रतिशत समता शुल्क लगाउने व्यवस्था गरिएको भए पनि त्यसले अभिभावकमाथि अतिरिक्त आर्थिक भार पर्ने भन्दै संघले निरन्तर विरोध गर्दै आएको उल्लेख गरिएको छ।
वक्तव्यमा उक्त शुल्क खारेजीको माग गर्दै संघले विभिन्न निकायमार्फत सरकारलाई अनुरोध गरेको, सार्वजनिक रूपमा आवाज उठाएको तथा आवश्यक परे सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीसमेत गरेको जनाइएको छ।
सरकारले अन्ततः समता शुल्क नलगाउने निर्णय गरेसँगै आम अभिभावकले राहत महसुस गरेको संघको भनाइ छ। साथै, सरकारले अभिभावकको चासो र सुझावलाई सम्बोधन गर्दै निर्णय गरेकोप्रति संघले आभार व्यक्त गरेको छ।
अभिभावक संघ नेपालले नेपाल सरकार तथा विशेषगरी प्रधानमन्त्री बालेन्द्र शाह प्रति धन्यवाद ज्ञापन गर्दै शिक्षा क्षेत्रमा अभिभावकको हितलाई प्राथमिकता दिने यस्ता निर्णयले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेको छ।