NEWS DESK
काठमाडौं। देशका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षा हुने सम्भावना देखिएपछि जल तथा मौसम विज्ञान विभागले बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। मौसमको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि आवश्यक पूर्वतयारीलाई तीव्र बनाएको जनाएको छ।
प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाका अनुसार नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढेमा सम्भावित बाढीको जोखिम न्यूनीकरण गर्न आज कोशी ब्यारेजका ढोकाहरू आवश्यकता अनुसार क्रमिक रूपमा खोलिनेछ।
यता, जल तथा मौसम विज्ञान विभागका बाढीविद् बिनोद पराजुलीले देशभरका नदीहरूको जलप्रवाह निरन्तर निगरानीमा रहेको जानकारी दिँदै हाल २१ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बताएका छन्।
सम्भावित विपद्लाई ध्यानमा राख्दै प्राधिकरणले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी उद्धार र प्रतिकार्यका लागि आवश्यक तयारी अघि बढाएको छ।
प्राधिकरणले स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सबै पक्षलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै नदी किनार, पहिरोको जोखिम भएका बस्ती तथा डुबान हुन सक्ने क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। साथै, सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न र यात्रा गर्दा मौसम तथा बाढीको अवस्थाबारे जानकारी लिएर मात्रै अघि बढ्न आग्रह गरिएको छ।