NEWS DESK
बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने र पृथ्वीराजमार्ग भएर यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई नयाँ गन्तव्य उपलब्ध गराउने उद्देश्यले पार्क निर्माणको योजना अघि बढाइएको हो। विशेषगरी काठमाडौँ र पोखराबीच आवतजावत गर्ने यात्रुलाई लक्षित गरी राजमार्ग नजिकै पर्यटकीय आकर्षण थप्न लागिएको निर्माण समितिले जनाएको छ।
पार्कमा स्थापना गरिने राष्ट्रिय झण्डा ६७ फिट अग्लो, ४५ फिट लामो र ३० फिट चौडा हुनेछ। विशाल राष्ट्रिय झण्डासहितको पार्कले बन्दीपुरको पर्यटकीय पहिचानलाई थप उचाइ दिने अपेक्षा स्थानीयवासीले गरेका छन्।
झण्डा पार्क निर्माण समितिका संयोजक शेरबहादुर रानाका अनुसार स्थानीयवासीको श्रमदान र सहयोगमा निर्माण कार्य अघि बढिरहेको छ। हालसम्म १५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको निर्माण कार्य सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो।
निर्माणाधीन पार्क र विशाल राष्ट्रिय झण्डाबारे सर्वसाधारणलाई जानकारी गराउने तथा अभियानलाई व्यापक बनाउने उद्देश्यले झण्डा प्रदर्शन गरिएको समितिले जनाएको छ।
पार्क निर्माणलाई पूर्णता दिन स्थानीयस्तरमा आर्थिक सहयोग सङ्कलन अभियानसमेत सञ्चालन गरिएको छ। यसैक्रममा आर्थिक स्रोत जुटाउने उद्देश्यले बन्दीपुर बजारमा तिहारको अवसर पारेर देउसीभैलो कार्यक्रम आयोजना गरिएको छ।
स्थानीय अगुवा बासु पन्तका अनुसार तिहारको सांस्कृतिक परम्परालाई सामुदायिक विकाससँग जोड्दै देउसीभैलोबाट सङ्कलित रकम पार्क निर्माणमा खर्च गरिनेछ। स्थानीयवासीको उत्साहजनक सहभागिता, श्रमदान र आर्थिक सहयोगबाट पार्क निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो।
प्राकृतिक सौन्दर्य, ऐतिहासिक बस्ती, मौलिक संस्कृति र मनोरम दृश्यका कारण बन्दीपुर नेपालको लोकप्रिय पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। यस क्षेत्रमा पर्यटकको आकर्षण बढाउन नयाँ पूर्वाधार थप्ने योजनाअन्तर्गत राष्ट्रिय झण्डासहितको पार्क निर्माण गर्न लागिएको हो।
पृथ्वीराजमार्ग भएर दैनिक ठूलो सङ्ख्यामा यात्रु तथा पर्यटक काठमाडौँ र पोखराबीच आवतजावत गर्ने भएकाले राजमार्ग नजिकै निर्माण हुने पार्कले यात्रुलाई केही समय विश्राम गर्न, अवलोकन गर्न र तस्बिर खिच्न आकर्षित गर्ने स्थानीयको विश्वास छ।
पार्क निर्माण सम्पन्न भएपछि बन्दीपुरको पर्यटनमा नयाँ आयाम थपिने, स्थानीय आर्थिक गतिविधि बढ्ने र यस क्षेत्रको पर्यटकीय सम्भावना थप विस्तार हुने अपेक्षा गरिएको छ।