NEWS DESK
नेपाल मौसम विज्ञान विभागबाट जारी विशेष बुलेटिनअनुसार चक्रवातको प्रभावका कारण आगामी कात्तिक १२ गतेदेखि मौसममा परिवर्तन आउने सम्भावना छ। विशेषगरी कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
प्राधिकरणका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमपहिरो तथा हिमताल विस्फोटसम्बन्धी जोखिमसमेत रहेकाले सावधानी अपनाउनुपर्ने जनाइएको छ।
प्राधिकरणले सम्भावित जोखिम न्यूनीकरणका लागि सर्वसाधारण, स्थानीय तह तथा सम्बन्धित निकायलाई पूर्वतयारीमा जुट्न आग्रह गरेको छ। प्राधिकरणले जारी गरेको सूचनामा निम्न सावधानी अपनाउन भनिएको छ।
कृषि कार्य समयमै सम्पन्न गर्न आग्रह: धानबाली काट्ने, भित्र्याउनेलगायतका कृषि कार्य कात्तिक १२ गतेअघि नै सम्पन्न गर्न भनिएको छ।
पर्यटकलाई सतर्क रहन सुझाव: उच्च पहाडी तथा हिमाली क्षेत्रमा भ्रमण नगर्न र भ्रमणमा गइसकेका पर्यटकलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
यात्रा गर्दा सावधानी अपनाउनुपर्ने: आवश्यकताअनुसार हवाई तथा सडक यातायात प्रभावित हुन सक्ने भएकाले यात्रा गर्नुअघि मौसम र यातायातको अवस्था बुझ्न भनिएको छ।
सुरक्षित स्थानमा बस्न आग्रह: जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित विपद्बाट जोगिन पूर्वसूचना तथा चेतावनीअनुसार सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।
सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशन: संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकलाई जोखिमबारे सर्वसाधारणलाई जानकारी गराउन र आवश्यक प्रतिकार्यको तयारीमा रहन भनिएको छ।
आधिकारिक सूचनाको पालना गर्न आग्रह: मौसमसम्बन्धी पूर्वानुमान तथा चेतावनी नियमित रूपमा हेर्न र सम्बन्धित निकायका निर्देशन पालना गर्न प्राधिकरणले अनुरोध गरेको छ।
प्राधिकरणले सम्भावित जोखिमबाट जनधनको क्षति हुन नदिन सबै सरोकारवाला निकाय र नागरिकलाई समयमै सतर्कता अपनाउन आग्रह गरेको हो।