मुम्बईमा संयुक्त नेपाली महासंघद्वारा ३५० विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री वितरण, भानु जयन्ती पनि मनाइयो
NEWS DESK
Jul-15 तारिख 12:36 बेलुका

मुम्बई । संयुक्त नेपाली महासंघ, मुम्बईले अध्ययनरत नेपाली विद्यार्थीहरूको शैक्षिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले निःशुल्क नोटबुक, शैक्षिक सामग्री, ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरेको छ। हरेक वर्ष आयोजना गरिँदै आएको यो कार्यक्रम आइतबार मुम्बईको दादरस्थित नायर हलमा सम्पन्न भएको हो।

कार्यक्रममा कक्षा १ देखि १२ सम्म अध्ययनरत करिब ३५० जना नेपाली विद्यार्थीलाई निःशुल्क लेखन पुस्तिका तथा अन्य आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको थियो। साथै कक्षा १० र १२ का उत्कृष्ट (टपर) विद्यार्थीलाई विशेष पुरस्कार प्रदान गरियो भने अन्य उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कार, सम्मानपत्र र मेडलसहित सम्मान गरिएको थियो।

विद्याकी देवी सरस्वतीको पूजाअर्चना तथा दीप प्रज्वलनबाट सुरु भएको कार्यक्रमको अध्यक्षता महासंघकी उपाध्यक्ष (शिक्षा तथा संस्कृति) श्रीमती सीता काफ्लेले गरेकी थिइन्। प्रमुख अतिथिका रूपमा महासंघका सल्लाहकार तथा व्यवसायी शिवकुमार बिष्ट सहभागी थिए।

प्रमुख अतिथि बिष्टले विद्यार्थीहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) र आधुनिक प्रविधिको उपयोगबारे जानकारी दिँदै भविष्यको शिक्षामा प्रविधिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए।

कार्यक्रममा महासंघका केन्द्रीय सल्लाहकार तथा सह–प्रमुख मनोज कोटालले इच्छुक विद्यार्थीका लागि निःशुल्क एआई र च्याटजीपीटी सम्बन्धी कार्यशाला सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै उनले राज्यस्तरीय खेलाडी तथा महासंघकी आजीवन सदस्य रेणुका खनाललाई आगामी खेल जीवनका लागि कोटाल म्यानेजमेन्टमार्फत प्रायोजन (स्पोन्सरशिप) उपलब्ध गराइने घोषणा गरे।

उपाध्यक्ष (अर्थ तथा संगठन) रामलाल पन्थ र शिक्षा सचिव श्रीमती मेखा चौहानले विद्यार्थी, अभिभावक तथा अतिथिहरूलाई स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव भीमराज गैरेले गरेका थिए।

कार्यक्रममा महासंघका सल्लाहकार, पदाधिकारी, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, राजनीतिक व्यक्तित्व, समाजसेवी, शिक्षाविद्, कलाकार, व्यवसायी तथा शाखा पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सल्लाहकार प्रमुख रविचन्द्र भट्टराई, वरिष्ठ सल्लाहकार जगतबहादुर सिंह, सम्पादक मण्डल प्रमुख ताराप्रसाद शर्मा, नेपाल–भारत सम्पर्क प्रमुख युवराज न्यौपाने, अभिनेत्री नितु कोइराला, मनकामना एकता फाउण्डेशनका पूर्व महासचिव टेकप्रसाद पराजुली, भारतीय जनता पार्टीकी नेतृ श्रद्धा सिंह, शिवसेनाका राजेन्द्र थलारी, प्रवासी नेपाली समुदायका विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा महासंघका केन्द्रीय, शाखा र कार्यसमिति सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको समापन गर्दै महासंघका केन्द्रीय अध्यक्ष पूर्णबहादुर कुँवरले निःशुल्क शैक्षिक सामग्री वितरण तथा छात्रवृत्ति कार्यक्रमलाई सफल बनाउन आर्थिक, भौतिक र नैतिक सहयोग पुर्‍याउने सम्पूर्ण दानदाता, सहयोगी संस्था तथा स्वयंसेवकहरूप्रति हार्दिक आभार व्यक्त गरे। उनले आगामी दिनमा पनि विद्यार्थी केन्द्रित यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

वक्ताहरूले महासंघले विगतदेखि नै सामाजिक सेवा, शिक्षा तथा मुम्बईमा अध्ययनरत नेपाली विद्यार्थीहरूको पठन–पाठनलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे। यस्ता अभियानले विद्यार्थीहरूमा अध्ययनप्रतिको उत्साह, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको उनीहरूको भनाइ थियो।

शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यार्थीहरू उत्साहित देखिएका थिए भने अभिभावकहरूले महासंघको यस पहलको खुलेर प्रशंसा गरेका थिए। उनीहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूको मनोबल उच्च बनाउनुका साथै उनीहरूको बौद्धिक विकासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। सहभागीहरूले निःशुल्क नोटबुक वितरण अभियानलाई समाजका लागि अनुकरणीय र प्रेरणादायी कार्यका रूपमा स्वागत गरेका थिए।

यसै अवसरमा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती पनि विशेष कार्यक्रमका साथ मनाइएको थियो। कार्यक्रममा भानुभक्तको नेपाली भाषा, साहित्य र राष्ट्रिय पहिचानमा पुर्‍याएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

 

धेरै पढिएको