NEWS DESK
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पृथ्वी राजमार्गको कृष्णभिर, चौकीभिर, जवाङ खोला र फिस्लिङ क्षेत्रमा पहिरोका कारण यातायात प्रभावित भएको छ । अवरुद्ध सडकमा पहिरो हटाउने काम भइरहेको छ । तर लगातारको वर्षाले माथिबाट पहिरो खस्ने क्रम जारी रहेकाले सडक पूर्णरूपमा सञ्चालनमा ल्याउन कठिनाइ भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता शान्ति महतले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहे पनि वर्षाका कारण चुनौती थपिएको बताउनुभयो । उहाँका अनुसार अवरुद्ध सडकलाई प्राथमिकताका आधारमा सञ्चालनमा ल्याउने गरी आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको छ ।
बिपी राजमार्गका माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायत क्षेत्रमा पहिरो तथा डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ । त्यहाँ पनि सडक खुलाउने काम भइरहेको छ ।
कान्ति राजमार्गको मकवानपुर खण्डमा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको छ भने ललितपुर खण्डमा सडक खुलाउने काम जारी छ । सिद्धिचरण राजमार्गको ओखलढुङ्गा–सल्लेरी खण्डमा सडक भासिएपछि एक्साभेटर, रक ब्रेकर र ह्विल लोडर परिचालन गरिएको छ ।
मध्यपहाडी राजमार्गअन्तर्गत निसी गाउँपालिका–कानाबगर क्षेत्रमा लेदोसहित पहिरो आउने क्रम नरोकिएपछि सडक खुलाउन आवश्यक मेसिन तयारी अवस्थामा राखिएको छ ।
कालीगण्डकी कोरिडोरको जैमिनी–८ बेलबगर, बागलुङ–बेनी सडकको हुलाके, तमोर कोरिडोरका विभिन्न स्थान तथा राप्ती राजमार्गको कपुरकोट–खारखोलामा समेत यातायात प्रभावित भएको छ । कर्णाली राजमार्गअन्तर्गत गगने खोला, नाग्म–जुम्लाको राँका, बाङ्गेसिमल–दहीखोला र हारे आसपासमा पहिरो तथा ढुङ्गा खसेका छन् । अवरुद्ध सडक खुलाउन आवश्यक मेसिन र प्राविधिक टोली परिचालन गरिएको छ ।
लगातारको वर्षाका कारण नदी तथा खोलामा जलसतहसमेत बढ्दै गएको छ । नारायणी नदीको देवघाट केन्द्रमा जलसतह खतरा तह नजिक पुगेर बढ्दो क्रममा रहेकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
नेपाल प्रहरीका अनुसार तनहुँको देवघाट तथा बागलुङको दरमखोला वामीटक्सारमा जलसतह सतर्कता तह पार गरेको छ । बाँकेको उदारापुरस्थित किरण नाला खोलामा पनि जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ ।
सङ्खुवासभाको अरुण नदीस्थित सिम्ले केन्द्रमा जलसतह यसअघि नै खतरा तह पार गरेपछि नदी तटीय तथा होचा भूभागमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण शनिबार राति मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरीसहित वर्षाको सम्भावना छ ।
मौसमविद् हरिप्रसाद दाहालका अनुसार मधेश प्रदेशदेखि सुदूरपश्चिमसम्मका तराईका जिल्ला तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा समेत हावाहुरीसहित वर्षा हुनसक्ने देखिएको छ ।
आइतबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि हावाहुरीको सम्भावना रहेको उहाँले बताउनुभयो । न्यूनचापीय प्रणालीको प्रभाव सोमबारदेखि क्रमशः कमजोर हुँदै जाने पूर्वानुमान गरिएको छ ।
हावाहुरीका समयमा झ्यालढोका बन्द गरी सुरक्षित स्थानमा बस्न तथा कमजोर संरचना, अग्ला रुख, बिजुलीका खम्बा र तारमुनि नबस्न सर्वसाधारणलाई आग्रह गरिएको छ । वर्षाका कारण नदी तथा खोलाको जलसतह बढिरहेकाले तटीय तथा होचा भूभागका बासिन्दाले स्थानीय अवस्था र नदीको बहावबारे नियमित जानकारी लिएर सतर्क रहनसमेत आग्रह गरिएको छ ।