सडक–सडकमा चन्दा संकलन गरेर रसुवा भोटेकोशीका अभिभावकविहीन बालबालिकालाई २ लाख ८५ हजार सहयोग
NEWS DESK
Sep-12 तारिख 07:01 बिहान

काठमाडौं । भगवान् श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा इजरायलको तेलअभिवमा रहेका नेपाली स–साना बालबालिकाले देखाएको मानवताको उदाहरणले सबैको मन छोएको छ। आफ्नै हातमा चन्दा बाकस बोकेर पसल–पसल र सडक–सडकमा पुग्दै उनीहरूले संकलन गरेको रकम नेपालका विपद्पीडित बालबालिकाको आँसु पुछ्ने प्रयास बनेको छ।

रसुवा भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोमा अभिभावक गुमाएका बालबालिकाको पीडामा साथ दिन इजरायलमा रहेका नेपाली बालबालिकाले चन्दा संकलन अभियान सञ्चालन गरेका थिए। उनीहरूले संकलन गरेको २ लाख ८५ हजार रुपैयाँ नगद राहत अभिभावक गुमाएका २८ जना बालबालिकालाई प्रत्यक्ष रूपमा हस्तान्तरण गरिएको छ।

यस मानवीय अभियानको संयोजन माँ पाथीभरा भक्ति समाज इजरायलकी संस्थापक अध्यक्ष इलित्रा क्षेत्रीले गरेकी हुन्। जन्मभूमिबाट हजारौँ किलोमिटर टाढा रहेर पनि नेपालमा विपद्मा परेका बालबालिकाको पीडा आफ्नै पीडाजस्तै महसुस गर्दै साना बालबालिकालाई नै राहत संकलन अभियानमा जोडिन प्रेरित गरिएको थियो।

चन्दा संकलनका क्रममा बालबालिकाले पसल–पसल र सडकमा पुगेर स्वेच्छिक सहयोग मागेका थिए। उनीहरूको सानो प्रयासबाट जम्मा भएको रकम आज बाढीमा आमाबुबा गुमाएका बालबालिकाका लागि ठूलो आशाको सहारा बनेको छ।

भोटेकोशी बाढीमा अभिभावक गुमाएका ती बालबालिका अहिले काठमाडौंको तारकेश्वर नगरपालिका–५, लोलाङ आसपास, सामाखुशी, कीर्तिपुर तथा स्वयम्भू क्षेत्रमा नातागोताको आश्रयमा बस्दै आएका छन्। बाढीले उनीहरूको घर मात्र होइन, बाल्यकालको सबैभन्दा ठूलो भरोसा—आमा र बुवाको साथसमेत खोसेको छ।

यस्तो अवस्थामा विदेशमा रहेका नेपाली बालबालिकाले आफ्नो खुशीका लागि खर्च गर्न सक्ने रकमसमेत बचाएर पीडित बालबालिकाका लागि सहयोग जुटाउनु मानवीय संवेदनाको अनुपम उदाहरण बनेको छ।

संकलित रकम रसुवाको आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुर्चुङ तामाङको अगुवाइ तथा रोहवरमा पीडित बालबालिकालाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा माँ पाथीभरा भक्ति समाज इजरायलका लागि नेपाल प्रतिनिधि सपना घले गुरुङले सम्बन्धित बालबालिकालाई नगद राहत रकम प्रदान गरेकी हुन्।

राहत हस्तान्तरणका क्रममा बालबालिकाका आँखामा देखिएको भावुकता र अनुहारमा झल्किएको पीडाले उपस्थित सबैलाई भावुक बनाएको थियो। उनीहरूका लागि २ लाख ८५ हजार रुपैयाँ केवल नगद रकम होइन, विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनी र विशेषगरी साना बालबालिकाले पठाएको माया, भरोसा र आफ्नो मान्छेपनको सन्देश हो।

 इजरायलमा त्यसरी उठेको रकममध्ये नगद ५० हजार आयुश्री रेग्मीको आमाले सहयोग गरेको जानकारी माँ पाथीभरा भक्ति समाज इजरायलकी संस्थापक अध्यक्ष इलित्रा क्षेत्रीले जानकारी दिएकी छन्।

विपद्ले अभिभावक गुमाएका बालबालिकालाई राज्य र समाजको निरन्तर साथ आवश्यक छ। यस्तो अवस्थामा विदेशमा रहेका नेपाली बालबालिका स्वयं सडकमा निस्किएर सहयोग जुटाउनु अझ प्रेरणादायी पक्ष हो।

सानो हातले मागेको चन्दा, ठूलो मनले दिएको सहयोग र मातृभूमिका पीडित बालबालिकाप्रतिको अपार माया—इजरायलका नेपाली बालबालिकाले यसपटक मानवताको एउटा सुन्दर पाठ सिकाएका छन्।

उनीहरूले प्रमाणित गरेका छन्मातृभूमिबाट टाढा भए पनि मन नेपालमै हुन्छ, र उमेर सानो भए पनि मानवताको भावना ठूलो हुन सक्छ।

धेरै पढिएको