आज दुवै सदनको बैठक, विभिन्न विधेयक र प्रतिवेदन कार्यसूचीमा
NEWS DESK
Sep-10 तारिख 06:50 बिहान

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे तथा राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्ने भएको छ।

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्छ्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

त्यस्तै, अर्थमन्त्री वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत गर्नुहुनेछ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यसैगरी, प्रतिनिधिसभाका सभामुखले राष्ट्रियसभाका पूर्व सदस्य शुक्रराज संयोकको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

उता, राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ।

त्यसैगरी, प्रधानमन्त्री शाहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

उक्त विधेयकमाथि राष्ट्रियसभामा छलफल गरी पारित गर्ने कार्यक्रमसमेत रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

धेरै पढिएको