बाढीका कारण सरेको कांग्रेसको वडा अधिवेशन असोज ३ गतेदेखि
NEWS DESK
Sep-09 तारिख 05:33 बिहान

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुने वडा अधिवेशन आगामी असोज ३ गतेदेखि सुरु हुने भएको छ। यसअघि भदौ २४ गतेबाट सुरु गर्ने तयारी गरिएको अधिवेशन भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण प्रभावित भएपछि कार्यतालिका संशोधन गरिएको हो।

कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जारी गर्नुभएको प्रेस विज्ञप्तिअनुसार वडा अधिवेशन असोज ३ र ४ गते देशभर सञ्चालन हुनेछ। उक्त अवधिमा देशका छ हजार ७४३ वडामा अधिवेशन सम्पन्न गरी क्षेत्रीय प्रतिनिधिको चयन गरिनेछ।

संशोधित कार्यतालिकाअनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिकाको अधिवेशन असोज ७ गते हुनेछ। त्यसपछि असोज १० गते प्रदेशसभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने कार्यक्रम तय गरिएको निर्वाचन समितिले जनाएको छ।

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन भने असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुने कार्यतालिका रहेको छ।

बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको अधिवेशनका सम्बन्धमा भने विशेष व्यवस्था गरिएको छ। संयोजक खड्काका अनुसार ती जिल्लामा तोकिएका निर्वाचन अधिकृत र पार्टीका स्थानीय तहबीच समन्वय गरी परिस्थितिअनुकूल अधिवेशन सम्पन्न गरिनेछ।

यसैगरी, विभिन्न देशमा रहेका नेपाली जनसम्पर्क समितिमध्ये अधिवेशन हुन बाँकी रहेका देशहरूको अधिवेशन असोज १० गतेभित्र सम्पन्न गर्ने तयारी गरिएको छ।

कांग्रेस निर्वाचन समितिले जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको विस्तृत कार्यतालिका भने दोस्रो चरणमा सार्वजनिक गर्ने जनाएको छ।

१५औँ महाधिवेशनलाई निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्यसहित कांग्रेसले प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रको अवस्थालाई ध्यानमा राख्दै अधिवेशनको कार्यतालिका परिमार्जन गरेको हो।

धेरै पढिएको