नारायणी किनारमा भेटिएको कङ्काल टीकारामको भएको पुष्टि, हत्यामा दुई छोरा संलग्न
NEWS DESK
Sep-07 तारिख 05:45 बिहान

चितवन । नारायणी नदी किनारमा तीन वर्षअघि भेटिएको मानव कङ्कालको डीएनए परीक्षणबाट भरतपुर महानगरपालिका–१८ निवासी टीकाराम नेपालीको पहिचान खुलेको छ। अनुसन्धानका क्रममा उनको हत्यामा आफ्नै दुई छोरा संलग्न रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विसं २०७९ फागुन १९ गते भरतपुर महानगरपालिका–१७ गाजीपुरस्थित नारायणी नदीको बगरमा मानव कङ्काल फेला परेको थियो। घटनास्थलबाट खप्पर, मेरुदण्ड, कम्मर, तिघ्रा तथा खुट्टाका विभिन्न हड्डी बरामद गरिएको प्रहरीले जनाएको छ।

कङ्काल भेटिएको स्थान वरपर कपडा, मोबाइल, मुख बाँध्न प्रयोग गरिएको सामग्री तथा पीँध च्यातिएका बोरा र प्लास्टिकका थैलासमेत फेला परेका थिए। ती प्रमाणका आधारमा प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो।

प्रहरीले बेपत्ता रहेका टीकाराम नेपालीका कान्छा छोरा अनिल नेपालीको रगतको नमुना लिएर डीएनए परीक्षण गराएको थियो। परीक्षणबाट नदी किनारमा भेटिएको कङ्काल टीकारामकै भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिनुभयो।

डीएनए परीक्षणबाट मृतकको पहिचान खुलेपछि प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी तीव्र बनाएको थियो। अनुसन्धानका क्रममा मृतकका जेठा छोरा अम्मरसिंह नेपाली र माइला छोरा विष्णुबहादुर नेपाली वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई) मा रहेको खुलेको प्रहरीले जनाएको छ।

दुवैजनाविरुद्ध अन्तर्राष्ट्रिय खोजतलासका लागि रेड कर्नर नोटिस जारी गरिएको थियो। केही दिनअघि नेपाल फर्किएका जेठा छोरा अम्मरसिंहलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका अम्मरसिंहले आफ्ना माइला भाइ विष्णुबहादुरसँग मिलेर बाबुको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घरमा बाबुआमाबीच विवाद भएपछि टीकाराम घर छाडेर नवलपरासीको गैँडाकोटमा अर्काको घरमा काम गर्दै बस्दै आएका थिए। त्यसपछि दुवै छोराले उनलाई फकाएर ल्याई हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

घटनामा संलग्न रहेको आरोप लागेका अन्य व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

धेरै पढिएको