५८ वर्षपछि जन्मथलो फर्किए यामबहादुर, परिवारमा पुनर्मिलनको खुशी
NEWS DESK
Sep-06 तारिख 06:41 बिहान

म्याग्दी । रोजगारीको खोजीमा भारत पुगेका म्याग्दीका एक वृद्ध ५८ वर्षपछि आफ्नै जन्मथलो र परिवारसँग पुनर्मिलन हुनुभएको छ। रघुगङ्गा गाउँपालिका–४ दग्नाम कान्छीगाउँका ८१ वर्षीय यामबहादुर तिलिजा शनिबार करिब छ दशकपछि घर फर्किनुभएको हो।

२० वर्षको उमेरमा रोजगारी र भविष्यको खोजी गर्दै भारतको मणिपुर पुग्नुभएका तिलिजासँग परिवारको लामो समयदेखि सम्पर्क टुटेको थियो। समय बित्दै जाँदा परिवारले उहाँ जीवित हुनुहुन्छ भन्ने आशासमेत गुमाइसकेको थियो। परिवारसँग उहाँको फोटोसमेत नभएकाले खोजतलास गर्ने कुनै आधार थिएन।

तर, मणिपुरको जङ्गलमा भेडाबाख्रा चराउँदै जीवन बिताइरहेका तिलिजालाई नेपालीभाषी सञ्चारकर्मी खेम देवानले भेटेपछि उहाँको जीवनले नयाँ मोड लियो। गत साउनमा मणिपुर पुगेका देवानलाई स्थानीय मणि तामाङले जङ्गलमा दुई जना वृद्ध दयनीय अवस्थामा बसिरहेको जानकारी गराउनुभएको थियो।

त्यसपछि देवानले तिलिजा र भोजपुरका वीरबहादुर राईको अवस्थाबारे श्रव्यदृश्य सामग्री तयार गरी सार्वजनिक गर्नुभयो। उक्त सामग्री प्रशारण भएपछि उनीहरूका परिवारजन सम्पर्कमा आएका थिए।

देवानका अनुसार जङ्गलमा भेटिएका दुई वृद्धको अवस्थाबारे जानकारी सार्वजनिक भएपछि परिवारसम्म पुग्ने माध्यम बनेको हो। वीरबहादुर राईलाई परिवारको जिम्मा लगाएपछि तिलिजाको स्वास्थ्य अवस्था कमजोर रहेकाले उहाँलाई उपचार गराएर नेपाल ल्याइएको थियो।

निमोनियाबाट पीडित तिलिजालाई धरानस्थित विजयपुर अस्पतालमा चार दिनसम्म उपचार गराइएको थियो। स्वास्थ्यमा सुधार आएपछि परिवारको आग्रहअनुसार उहाँलाई म्याग्दीको दग्नामस्थित जन्मघर ल्याइएको हो।

घर पुगेपछि तिलिजालाई तीन भाइ, बुहारी तथा अन्य परिवारजनले फूलमाला लगाएर भावुक स्वागत गरेका थिए। पाँच दशकभन्दा बढी समयपछि दाजुलाई प्रत्यक्ष देख्न पाउँदा भाइहरू भावुक बनेका थिए।

तिलिजाका भाइ उदयचन्द्रले एक दिन दाजुसँग भेट हुने आशा मनमा सधैँ रहेको बताउनुभयो। उहाँले दाजुको कुनै फोटो नभएकाले खोजीकार्य गर्न निकै कठिन भएको स्मरण गर्नुभयो। लामो समयपछि दाजुलाई परिवारसँग पुनर्मिलन गराइदिएकोमा उहाँले सञ्चारकर्मी देवानप्रति आभार व्यक्त गर्नुभयो।

चार भाइमध्ये यामबहादुर जेठा हुनुहुन्छ। उहाँका एक भाइको निधन भइसकेको छ भने उदयचन्द्र, जगतबहादुर र हेमबहादुर दग्नाममै बस्दै आउनुभएको छ।

यामबहादुर युवावस्थामा भारतीय सेनामा भर्ती हुने उद्देश्यले आसाम राइफल्समा कार्यरत आफन्तको साथमा मणिपुर पुग्नुभएको थियो। सेनामा भर्ती हुन नसकेपछि उहाँले काठ काट्ने काम गर्न थाल्नुभयो।

पढाइलेखाइको अवसर नपाएका कारण परिवारसँग चिठ्ठीपत्रमार्फत सम्पर्क गर्न नसकेको र आर्थिक अभावका कारण घर फर्कन नसकेको उहाँले बताउनुभयो। समयसँगै परिवारसँगको सम्पर्क पूर्ण रूपमा टुट्दै गएको थियो।

मणिपुरमै विवाह गर्नुभएका तिलिजाले जीवनमा थप पीडा पनि भोग्नुपर्‍यो। उहाँकी छोरी सात महिनामै बित्नुभयो भने त्यसको एक वर्षपछि श्रीमतीको पनि निधन भयो। त्यसपछि उहाँ एक्लै जीवन बिताउँदै आउनुभएको थियो।

उमेर बढेपछि काठ काट्ने काम गर्न नसकेपछि उहाँले साहुको बाख्रा चराएर आफ्नो जीवन चलाउँदै आउनुभएको थियो। तर, जीवनको उत्तरार्धमा उहाँले पुनः आफ्ना भाइ, आफन्त र जन्मथलो भेट्ने अवसर पाउनुभएको छ।

“परिवारसँग भेट्न पाएँ, जन्मथलोमा फर्किन पाउँदा निकै खुसी लागेको छ,” तिलिजाले भन्नुभयो, “अब बाँकी जीवन भाइहरू, परिवार र आफन्तसँगै बिताउने चाहना छ।”

रघुगङ्गा गाउँपालिका–४ का वडाध्यक्ष पविन गर्बुजाले ५८ वर्षपछि तिलिजा घर फर्किँदा दग्नामको एउटा परिवारमा हराएको खुसी पुनः फर्किएको बताउनुभयो। उहाँका अनुसार लामो समयसम्म परिवारले खोजी गर्न नसकेको सदस्य अप्रत्याशित रूपमा फर्किएपछि गाउँमा समेत खुसीको वातावरण बनेको छ।

करिब छ दशकसम्म परिवारबाट टाढा रहनुभएका यामबहादुरको घरफिर्तीले बिछोडिएको परिवारलाई पुनः जोडेको छ। जीवनका अनेक उतारचढाव पार गर्दै जन्मथलो फर्किएका तिलिजाका लागि अब बाँकी जीवन आफ्ना परिवारजनको साथमा बित्ने भएको छ।

धेरै पढिएको