NEWS DESK
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय समुदायसँग चार करोड ९६ लाख अमेरिकी डलर बराबरको मानवीय सहायता जुटाउने बताएको छ।
राष्ट्रसङ्घले नेपाल सरकार तथा मानवीय सहायता क्षेत्रमा कार्यरत साझेदार संस्थासँगको समन्वयमा बाढी प्रभावित नागरिकलाई तत्काल जीवनरक्षक सहायता उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग अपिल सार्वजनिक गरेको हो। यसबाट रसुवा, नुवाकोट र धादिङलगायत प्रभावित जिल्लाका ८४ हजारभन्दा बढी नागरिकलाई राहत पुर्याउने लक्ष्य राखिएको छ।
नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा सरकारले तयार पारेको आगामी चार महिनाको आपत्कालीन योजनालाई सहयोग रकममार्फत कार्यान्वयन गरिनेछ। विशेषगरी हिउँद सुरु हुनुअघि उच्च हिमाली तथा दुर्गम क्षेत्रमा विस्थापित भएका परिवारलाई सुरक्षित आवास, खाद्य सामग्री, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी र आवश्यक नगद सहायता उपलब्ध गराउन प्राथमिकता दिइनेछ।
संयुक्त राष्ट्रसङ्घले हिउँदयाम सुरु हुनुअघि प्रभावित समुदायलाई थप कष्टबाट जोगाउनु तथा सरुवा र पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्नु योजनाको प्रमुख उद्देश्य रहेको जनाएको छ।
यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट र धादिङका विभिन्न बस्तीमा ठूलो क्षति पुगेको छ। बाढी र पहिरोका कारण धेरै परिवार विस्थापित भएका छन् भने सडक, पुल, विद्युत्, खानेपानी तथा सरसफाइका संरचनामा व्यापक क्षति पुगेको छ। यातायात सम्पर्क अवरुद्ध हुँदा दुर्गम क्षेत्रका नागरिक राहत तथा आधारभूत सेवामा पहुँचबाट समेत प्रभावित भएका छन्।
राष्ट्रसङ्घका अनुसार स्थानीय बजार सञ्चालनमा रहेका क्षेत्रमा प्रभावित परिवारलाई प्रत्यक्ष नगद सहयोग उपलब्ध गराइनेछ। हिउँदको चिसोबाट जोगाउन अस्थायी आवास तथा आवश्यक सामग्री वितरण गरिनेछ। विद्युत् सेवा अवरुद्ध भएका बस्तीमा सौर्य ऊर्जाका उपकरण उपलब्ध गराएर प्रकाश तथा आधारभूत ऊर्जाको व्यवस्था मिलाइने योजना छ।
त्यस्तै क्षतिग्रस्त खानेपानी प्रणालीको मर्मत, पानी शुद्धीकरण प्रणाली सञ्चालन तथा सरसफाइ सामग्री वितरणमार्फत पानीजन्य रोग फैलिन नदिने प्रयास गरिनेछ। प्रभावित क्षेत्रमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरी तत्काल उपचार तथा पोषण सेवा उपलब्ध गराइने राष्ट्रसङ्घले जनाएको छ।
परिवारबाट छुट्टिएका बालबालिकाको खोजी तथा पुनर्मिलनका लागि संरक्षणसम्बन्धी टोली परिचालन गरिनेछ। साथै, आकस्मिक खाद्य सहायता वितरण गर्नुका साथै बाँचेका पशुधनको संरक्षण र व्यवस्थापनमार्फत ग्रामीण समुदायको जीविकोपार्जन जोगाउने कार्यक्रम पनि सञ्चालन गरिनेछ।
नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक लिला पिटर्स याहियाले विनाशकारी बाढी र पहिरोले धेरै परिवारको जीवन केही क्षणमै तहसनहस बनाएको बताएकी छन्।
उनले भनिन्, “भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट परिवारहरूले केही क्षणमै आफ्ना परिवारजन, घर र बाँच्ने आधार गुमाएका छन्।”
सरकारको नेतृत्व र समन्वयमा सबैभन्दा दुर्गम तथा जोखिममा रहेका समुदायसम्म हिउँद सुरु हुनुअघि सुरक्षित ओत, उपचार, स्वच्छ पानी र नगद सहायता पुर्याउनु राष्ट्रसङ्घको मानवीय सहयोग योजनाको मुख्य प्राथमिकता रहेको उनले बताइन्।
संयुक्त राष्ट्रसङ्घ तथा उसका मानवीय साझेदार संस्थाहरूले नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार, राहत तथा पुनःस्थापनाको कार्यमा निरन्तर समन्वय गर्दै प्रभावित नागरिकसम्म सहायता पुर्याउने जनाएका छन्।