भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३२५ पुग्यो, ८ हजार ८९८ अझै सम्पर्कविहीन
NEWS DESK
Sep-05 तारिख 06:21 बिहान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३२५ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा शव फेला पर्ने क्रम जारी रहँदा मृतकको संख्या बढेको हो।

प्रहरीका अनुसार हालसम्म ५२२ पुरुष र ३२१ महिलाको शव फेला परेको छ। त्यस्तै, ४८२ जनाको आंशिक अंग मात्र फेला परेको प्रहरीले जनाएको छ।

बाढीको भयावह घटनापछि पहिचान हुन नसकेका १ हजार ३० जनाको शव जमिनमुनि गाडिएको छ। शवहरूको पहिचान तथा व्यवस्थापनका लागि डीएनए परीक्षणको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

हालसम्म १ हजार २६० मृतकको डीएनए नमुना संकलन गरिएको छ भने मृतकका सम्भावित आफन्तमध्ये ८४६ जनाको डीएनए पनि संकलन गरिएको छ। संकलित नमुनाको परीक्षणबाट मृतकको पहिचान गर्ने प्रयास भइरहेको छ।

यसैबीच, बाढीपछि स्वदेशी तथा विदेशी नागरिक गरी ८ हजार ८९८ जना अझै सम्पर्कविहीन रहेको प्रहरीको तथ्यांकले देखाएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार, बेपत्ताको खोजी र शवको पहिचान गर्ने कार्यलाई निरन्तरता दिइएको जनाइएको छ।

भोटेकोशी क्षेत्रमा आएको उक्त विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। विपद्पछि प्रभावित परिवारको अवस्था अझै पीडादायी बनेको छ भने सम्पर्कविहीन व्यक्तिको खोजी तथा मृतकको पहिचान सरकार र सुरक्षा निकायका लागि प्रमुख चुनौती बनेको छ।

धेरै पढिएको