NEWS DESK
तनहुँ । डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत तनहुँको भानु नगरपालिका–३ स्थित चाम्बासदेखि बाइसजाँगरसम्म सडक विस्तार तथा कालोपत्रको काम तीव्र गतिमा अघि बढाइएको छ। करिब ८ दशमलव ९ किलोमिटर दूरीको उक्त सडकखण्डलाई स्तरोन्नति गर्ने कार्य हाल धमाधम भइरहेको छ।
सडक निर्माणको जिम्मा पिके निर्माण सेवा, दाङले लिएको छ। रु ६२ करोडको लागतमा ठेक्का सम्झौता भएको आयोजनामा हालसम्म करिब ३२ प्रतिशत भौतिक प्रगति हासिल भएको डुम्रे–बेँसीसहर सडक आयोजनाले जनाएको छ। आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार निर्माण कार्यलाई निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइएको छ।
२०८२ साल जेठमा सम्झौता भएको उक्त सडकखण्डको निर्माण २०८४ साल जेठभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। अहिले सडक चौडा बनाउने, विभिन्न स्थानमा पर्खाल निर्माण गर्ने, नाली निर्माण तथा सडकको बेस तयार गर्ने काम भइरहेको छ। सडक कालोपत्र गर्ने, कल्भर्ट निर्माण तथा आवश्यक रङरोगनलगायतका काम भने बाँकी रहेका छन्।
यसैबीच, सडक विस्तारको अर्को चरणअन्तर्गत तनहुँको बाइसजाँगरदेखि लमजुङ–तनहुँको सिमाना हुँदै लमजुङको सुन्दरबजार नगरपालिका–७ पाउँदीसम्मको सडक पनि दुई लेनमा विस्तार गर्ने तयारी गरिएको छ। करिब ६ दशमलव ५ किलोमिटर लामो उक्त सडकखण्डका लागि चालु आर्थिक वर्षमा रु ६८ करोड बजेट विनियोजन गरिएको छ।
आयोजनाका अनुसार उक्त सडक निर्माणका लागि ठेक्का आह्वान भइसकेको छ भने अहिले ठेकेदार छनोट प्रक्रिया अघि बढिरहेको छ। ठेकेदार छनोटपछि निर्माण कार्य सुरु गरिनेछ।
डुम्रे–बेँसीसहर–चामे सडक लमजुङ र मनाङलगायत हिमाली जिल्लालाई जोड्ने महत्वपूर्ण सडकका रूपमा रहेको छ। यही मार्ग हुँदै अन्नपूर्ण पदमार्ग तथा मनाङ क्षेत्र पुग्ने आन्तरिक र विदेशी पर्यटकसमेत आवतजावत गर्ने भएकाले सडकको स्तरोन्नतिलाई विशेष महत्वका साथ हेरिएको छ।
सडक दुई लेनमा विस्तार तथा स्तरोन्नति भएपछि यात्राको समय घट्ने, यातायात सेवा थप सहज र सुरक्षित बन्ने तथा स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। साथै, अन्नपूर्ण क्षेत्रतर्फ जाने पर्यटकको आवागमन सहज भएसँगै पर्यटन व्यवसायलाई समेत थप टेवा पुग्ने विश्वास गरिएको छ।