पोखरामा २१ शवको पहिचानपछि परिवारलाई बुझाइयो, ७६ शव सुरक्षित व्यवस्थापन
NEWS DESK
Sep-02 तारिख 05:41 बिहान

 

पोखरा । रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजतलासका क्रममा फेला परेका शवमध्ये २१ जनाको पहिचान भएपछि सम्बन्धित परिवारलाई बुझाइएको छ।

बाढी प्रभावित विभिन्न क्षेत्रबाट संकलन गरी परीक्षण तथा व्यवस्थापनका लागि पोखरा ल्याइएका कुल १०२ शवमध्ये मंगलबार २१ शवको सनाखत भएको हो।

पहिचान हुन नसकेका ७६ शवलाई पोखरा महानगरपालिका–१६, माथिल्लो दीपस्थित सिसौघारी क्षेत्रमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा अझै पाँच शव राखिएका छन्। तीमध्ये केही शवमा एकभन्दा बढी परिवारले तस्वीरका आधारमा दाबी गरेकाले यकिन पहिचानका लागि थप परीक्षण गर्नुपर्ने भएको छ।

लामो समयसम्म शवगृहमा शव राखिराख्दा दुर्गन्ध फैलिनुका साथै जनस्वास्थ्यमा जोखिम उत्पन्न हुन सक्ने भएकाले आवश्यक वैज्ञानिक प्रक्रिया अपनाएर शवको सुरक्षित व्यवस्थापन गरिएको प्रशासनले जनाएको छ।

व्यवस्थापन गरिएका सबै शवको डीएनए नमुना सुरक्षित राखिएको छ। भविष्यमा परिवारका सदस्यको डीएनएसँग मिलान भएपछि शवको पहिचान पुष्टि भएमा सम्बन्धित परिवारलाई आवश्यक प्रक्रिया पूरा गरी जानकारी गराउन सकिने बताइएको छ।

प्राप्त विवरणअनुसार धादिङबाट ल्याइएका २२, गोरखाका सात, नवलपरासीका २५ तथा तनहुँका २२ शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो।

शवहरूलाई गहिरो खाडलमा हावा प्रवेश गर्न नदिने विशेष प्लास्टिकमा राखी छुट्टाछुट्टै सङ्केत नम्बर प्रदान गरेर व्यवस्थापन गरिएको छ। प्रत्येक शवको स्थान र पहिचानका लागि सङ्केत नम्बरको अभिलेखसमेत सुरक्षित राखिएको प्रशासनले जनाएको छ।

धेरै पढिएको