विपद्पछि नेपाललाई अन्तर्राष्ट्रिय सहयोग, विभिन्न देश र निकायबाट राहत तथा आर्थिक सहयोगको प्रतिबद्धता
NEWS DESK
Sep-02 तारिख 05:37 बिहान

 

नेपालमा आएको विनाशकारी विपद्पछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायबाट सहयोग आउने क्रम तीव्र बनेको छ। विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरूले राहत सामग्रीदेखि करोडौं डलर बराबरको आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

संयुक्त अरब इमिरेट्स (यूएई)ले हालसम्म ८३ टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराइसकेको छ। साथै, यूएईले १० मिलियन अमेरिकी डलरसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

त्यस्तै, कतारले पनि विपद्प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री उपलब्ध गराएको छ। स्विट्जरल्यान्डबाट संयुक्त राष्ट्रसङ्घमार्फत खर्च हुने गरी १० लाख स्विस फ्र्याङ्क सहयोग प्राप्त भएको छ।

अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सहयोग पनि उल्लेखनीय रहेको छ। एसियाली विकास बैंक (एडीबी)ले बजेटरी सहयोगका लागि ५० लाख अमेरिकी डलर अनुदान तथा प्राविधिक सहायताका लागि एक लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

विश्व बैंकले नेपाललाई विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि १६ करोड ७० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

यसैगरी, बेलायत, जापानलगायत अन्य मित्रराष्ट्रहरूले समेत नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। युरोपेली सङ्घ (ईयू) तथा संयुक्त राष्ट्रसङ्घअन्तर्गतका विभिन्न निकायबाट समेत राहत तथा मानवीय सहयोग प्राप्त भइरहेको बताइएको छ।

विपद्को कठिन घडीमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगले प्रभावित नागरिकको तत्काल राहत, उद्धार तथा दीर्घकालीन पुनःस्थापनामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

धेरै पढिएको