भोटेकोशीको बाढीमा मृत्यु हुनेको संख्या १५७ पुग्यो, ४७ शवको पहिचान खुल्न बाँकी
NEWS DESK
Aug-27 तारिख 06:29 बिहान

 

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ। बाढी प्रभावित विभिन्न जिल्लाबाट शव फेला पर्ने क्रम जारी रहँदा मृतकको संख्या बढेको हो।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार मृत्यु हुनेमध्ये ३४ जना महिला, ६३ जना पुरुष, छ जना बालिका र सात जना बालक रहेका छन्। साथै, ४७ जनाको शवको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका क्रममा विभिन्न जिल्लामा शव फेला परेका छन्। रसुवामा तीन जना पुरुषको शव फेला परेको छ भने नुवाकोटमा छ जना महिला र सात जना पुरुषको शव भेटिएको छ।

त्यसैगरी धादिङमा १० जना महिला, १० जना पुरुष, एक जना बालिका तथा छ जना पहिचान नखुलेका व्यक्तिको शव फेला परेको छ। गोरखामा दुई जना महिला, आठ जना पुरुष, एक जना बालक तथा आठ जना पहिचान नखुलेका व्यक्तिको शव भेटिएको प्रहरीले जनाएको छ।

सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा १३ जना महिला, १८ जना पुरुष, एक जना बालिका, चार जना बालक तथा २८ जना पहिचान नखुलेका व्यक्तिको शव फेला परेको छ।

तनहुँमा एक जना महिला, पाँच जना पुरुष, एक जना बालिका, एक जना बालक तथा एक जना पहिचान नखुलेका व्यक्तिको शव फेला परेको छ। यस्तै, नवलपरासी पूर्वमा दुई जना महिला, १२ जना पुरुष, तीन जना बालिका, एक जना बालक तथा चार जना पहिचान नखुलेका व्यक्तिको शव फेला परेको छ।

बाढीले बगाएर विभिन्न जिल्लासम्म पुर्‍याएका शवहरू स्थानीयवासी, सुरक्षाकर्मी तथा उद्धार टोलीको सहयोगमा फेला पारिएको प्रहरीले जनाएको छ। हाल पनि बेपत्ता व्यक्तिको खोजी तथा शवको पहिचान गर्ने कार्य जारी रहेको छ।

धेरै पढिएको