बाजुराका दुई पालिकामा १० शय्याका आधारभूत अस्पताल सञ्चालन
NEWS DESK
Aug-21 तारिख 07:04 बिहान

बाजुरा  l बाजुराका नौ स्थानीय तहमध्ये जगन्नाथ र गौमुल गाउँपालिकाले १० शय्याका आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छन्। आवश्यक जनशक्ति, औषधि र उपकरणको अभाव कायमै रहे पनि स्थानीय नागरिकलाई आफ्नै पालिकामा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दुवै पालिकाले अस्पताल सञ्चालन गरेका हुन्।

गौमुल गाउँपालिकाले भदौ ३ गतेदेखि १० शय्याको आधारभूत अस्पतालबाट सेवा सुरु गरेको हो। करिब डेढ वर्षअघि निर्माण सम्पन्न भएको अस्पताल विद्युत्, औषधि, उपकरण र जनशक्ति व्यवस्थापनमा ढिलाइ हुँदा लामो समय सञ्चालनमा आउन सकेको थिएन।

गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले अस्पतालको औपचारिक उद्घाटन गर्दै सीमित सेवाबाट उपचार सुरु गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अस्पतालमा मेडिकल अधिकृतसहित २२ जना कर्मचारी रहने व्यवस्था छ। चिकित्सक तत्काल उपलब्ध हुन नसकेपछि हाल उपलब्ध जनशक्तिबाट सेवा सञ्चालन गरिएको छ।

“आवश्यक जनशक्ति, औषधि र उपकरणको व्यवस्था गरेर नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा दिने तयारीमा छौँ,” अध्यक्ष रोकायाले भन्नुभयो।

गाउँपालिकाकी उपाध्यक्ष सीता थापाका अनुसार अस्पताल सञ्चालनमा आएपछि सामान्य स्वास्थ्य समस्या लिएर सदरमुकाम मार्तडी वा धनगढी पुग्नुपर्ने स्थानीयवासीको बाध्यता घट्ने अपेक्षा गरिएको छ।

यता, जगन्नाथ गाउँपालिकाले २०८० चैतदेखि नै १० शय्याको अस्पताल सञ्चालन गर्दै आएको छ। गाउँपालिकाको केन्द्र जुड्डीमा निर्माण गरिएको अस्पतालका लागि ११ करोड ७८ लाख ४५ हजार रुपैयाँ खर्च भएको छ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर शाहीका अनुसार अस्पताल सञ्चालनमा आए पनि केही जनशक्ति र उपकरण अझै अभाव छन्। २०८२ चैतदेखि मेडिकल अधिकृतको एक पद रिक्त रहेकाले तत्काल विज्ञापन गरेर पदपूर्ति गर्ने तयारी गरिएको छ।

सरकारले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले २०७७ सालमा ‘एक स्थानीय तह, एक अस्पताल’ कार्यक्रम अघि सारेको थियो। तर बाजुराका अधिकांश स्थानीय तहमा अस्पताल निर्माण तथा सञ्चालनको काम अझै पूरा हुन सकेको छैन।

जिल्ला सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिकाले वडा नं. ७ चुथीमा १० शय्याको अस्पताल निर्माण सम्पन्न गरिसकेको छ। नगरप्रमुख अमरबहादुर खड्काका अनुसार अस्पताल सञ्चालनको तयारी भइरहेको छ।

बुढीगङ्गा नगरपालिकामा भने १५ शय्याको अस्पताल निर्माण पाँच वर्षदेखि अलपत्र अवस्थामा छ। जिल्लाका अन्य स्थानीय तहमा पनि आधारभूत अस्पताल निर्माणको काम विभिन्न चरणमा रहेको छ।

जगन्नाथ र गौमुलमा अस्पताल सञ्चालनमा आएपछि दुर्गम क्षेत्रका नागरिकलाई प्राथमिक तथा आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमै उपलब्ध हुने अपेक्षा गरिएको छ। तर अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी, औषधि र उपकरणको नियमित व्यवस्था गर्नुपर्ने चुनौती कायमै छ।

धेरै पढिएको