NEWS DESK
काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा आज पनि विभिन्न सात बिक्री केन्द्रमार्फत खाना पकाउने एलपी ग्यास वितरण गर्ने भएको छ। निगमले उपभोक्ताको सहजताका लागि विभिन्न ब्रान्डका ग्यास बिक्री हुने स्थानसमेत सार्वजनिक गरेको छ।
निगमका अनुसार टेकुस्थित निगम परिसरबाट नेपाल, एचपी, एभरेष्ट, सुगम, श्रीराम र सगर ब्रान्डका ग्यास बिक्री हुनेछन्। पशु सेवा शाखा, चपली बुढानीलकण्ठबाट नेपाल, एचपी र भानु ग्यास उपलब्ध गराइनेछ।
त्यस्तै, कीर्तिपुरस्थित राधास्वामी केन्द्रबाट नेपाल, एचपी, एभरेष्ट, सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ब्रान्डका ग्यास वितरण गरिने निगमले जनाएको छ। नयाँ बजारस्थित जुडो हल परिसरबाट नेपाल, एचपी र ओम ग्यास बिक्री हुनेछ।
तारकेश्वर नगरपालिका परिसरबाट नेपाल र एचपी तथा चन्द्रागिरी नगरपालिका परिसरबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया ब्रान्डका ग्यास उपलब्ध हुनेछन्। राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेष्ट/सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री गरिने निगमको सूचनामा उल्लेख छ।
ग्यास लिन जाने उपभोक्ताले नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउन निगमले आग्रह गरेको छ। वितरणलाई व्यवस्थित बनाउन परिचयपत्रका आधारमा ग्यास उपलब्ध गराइने निगमले जनाएको छ।
यसअघि शनिबार निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा काठमाडौंका विभिन्न बिक्री केन्द्रबाट ६ हजार ८०२ थान ग्यास सिलिण्डर बिक्री गरेको थियो। त्यस दिन टेकुस्थित निगम परिसरबाट मात्रै सबैभन्दा बढी २ हजार २९० सिलिण्डर बिक्री भएको थियो।
त्यस्तै, बबरमहलबाट १ हजार ६००, कीर्तिपुरको राधास्वामी केन्द्रबाट ७६२, यातायात कार्यालय चाबहिलबाट ७२०, अर्को राधास्वामी केन्द्रबाट ६००, बालाजुबाट ५०० तथा साल्ट ट्रेडिङका जडीबुटी र कालिमाटी काउन्टरबाट ३३० थान ग्यास बिक्री गरिएको निगमले जनाएको छ।
ग्यासको आपूर्ति तथा बिक्रीलाई सहज र व्यवस्थित बनाउन निगमले विभिन्न स्थानमा बिक्री केन्द्र विस्तार गर्दै आएको जनाएको छ।