NEWS DESK
महोत्तरी । साउन पूर्णिमालाई केन्द्रमा राखेर मिथिला क्षेत्रमा मनाइने झुलना पर्वले यतिबेला जिल्लाका गाउँ–सहरमा धार्मिक तथा सांस्कृतिक रौनक बढाएको छ। जिल्लाका साथै सीमावर्ती भारतका विभिन्न स्थानमा रहेका दर्जनौँ मठमन्दिरबाट विष्णु र लक्ष्मीका प्रतिमासमेत झुलनाका लागि ल्याइएका छन्।
झुलना पर्वका अवसरमा साधुसन्त तथा श्रद्धालुहरू विभिन्न धार्मिक केन्द्रमा भेला हुने गरेका छन्। पर्व अवधिभर मठमन्दिरमा भजन–कीर्तन, पूजाआजा तथा धार्मिक गतिविधि सञ्चालन हुने भएकाले मिथिला क्षेत्रको वातावरण भक्तिमय बन्ने गरेको छ।
मिथिला परम्पराअनुसार साउन पूर्णिमाका दिन विष्णु–लक्ष्मीका प्रतिमालाई विशेष रूपमा झुलाइन्छ। धार्मिक विधिअनुसार प्रतिमा झुलाउने क्रममा प्रयोग गरिएको झुलाको डोरी चुडाएपछि पर्वको समापन गर्ने चलन छ। यसलाई झुलना पर्वको महत्वपूर्ण सांस्कृतिक विधिका रूपमा लिइन्छ।
मिथिला क्षेत्रमा प्रचलनमा रहेका विद्यापति र मिथिला पञ्चाङ्ग दुवैमा चन्द्रमासअनुसार साउनदेखि नयाँ वर्षको सुरुआत हुने मान्यता रहेको छ। त्यसैले साउनमा पर्ने विभिन्न पर्वलाई मिथिलाको नयाँ धार्मिक तथा सांस्कृतिक वर्षको प्रारम्भसँग जोडेर हेर्ने गरिएको छ।
मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का मैथिली भाषा तथा साहित्यका उपप्राध्यापक मनोज झा मुक्तिका अनुसार साउनमै मनाइने मधुश्रावणी, झुलना, लगपाँच अर्थात् नागपञ्चमी र रक्षाबन्धनलगायत पर्वले मिथिलामा वर्षभर चल्ने चाडपर्वको औपचारिक सुरुआत भएको संकेत गर्छन्।
मिथिलाको मौलिक संस्कृति, धार्मिक आस्था र परम्परालाई पुस्तान्तरण गर्दै आएको झुलना पर्वमा धार्मिक अनुष्ठानसँगै सामाजिक र सांस्कृतिक पक्षसमेत जोडिएको छ। मठमन्दिरमा हुने सामूहिक सहभागिता, साधुसन्तको जमघट र झुलामा भगवानका प्रतिमा राख्ने परम्पराले यस पर्वलाई मिथिलाको विशिष्ट सांस्कृतिक पहिचानका रूपमा स्थापित गरेको छ।
साउन पूर्णिमासम्म चल्ने झुलना पर्वले धार्मिक आस्था मात्र नभई मिथिलाको पुरानो पञ्चाङ्ग परम्परा, लोकसंस्कृति र सामुदायिक जीवनशैलीलाई समेत जीवन्त राख्दै आएको छ।