NEWS DESK
कञ्चनपुर । कैलाली र कञ्चनपुरमा बसोबास गर्ने रानाथारू समुदायले आफ्नो मौलिक परम्परा र सांस्कृतिक पहिचानअनुसार श्रावण शुक्ल तृतीयाका दिन तिज पर्व मनाएका छन्। अन्य समुदायमा भाद्र शुक्ल तृतीयामा मनाइने तिज रानाथारू समुदायमा भने एक महिनाअघि नै विशेष धार्मिक तथा सांस्कृतिक विधिसहित मनाउने परम्परा छ।
रानाथारू समुदायका महिलाहरूले दाजुभाइ तथा भतिजाहरूको दीर्घायु, सुख, समृद्धि र प्रगतिको कामना गर्दै निराहार व्रत बसेर तिज मनाउने गरेका छन्। विवाहित महिलासमेत माइतीघर फर्किएर दिदीबहिनी तथा आफन्तसँगै पर्व मनाउने भएकाले गाउँघरमा तिजको छुट्टै रौनक देखिने गरेको छ।
रानाथारू समुदायमा तिज आउनुभन्दा करिब १५ दिनअघिदेखि नै दिदीबहिनी तथा आफन्तलाई निम्तो दिने चलन छ। यही समयदेखि गाउँमा ‘सावनकी डोला’ अर्थात् पिङ राख्ने परम्परा पनि सुरु हुन्छ। खेतीपातीको कामबाट केही समय फुर्सद निकालेर पिङ खेल्ने, आफन्तसँग भेटघाट गर्ने र सामूहिक रूपमा रमाइलो गर्ने भएकाले सावनकी डोला पर्वलाई मनोरञ्जनसँगै सामाजिक सम्बन्ध बलियो बनाउने अवसरका रूपमा पनि लिइन्छ।
भीमदत्त नगरपालिका–१४ का रानाथारू समुदायका जानकार पर्शुराम रानाका अनुसार तिजका दिन व्रतालु महिलाहरूले पुरी, पापड, सेमइ, पकौडा, गुलगुलालगायत विभिन्न परिकार तयार पारेर चेलीबेटी, छिमेकी र आफन्तलाई खुवाउने गर्छन्। पर्वका अवसरमा माइतीघरमा भेला हुने दिदीबहिनीबीच आत्मीयता साटासाट गर्ने र पारिवारिक सम्बन्धलाई थप बलियो बनाउने परम्परा रहेको उहाँले बताउनुभयो।
रानाथारू समुदायमा तिजको धार्मिक विधि पनि अन्य समुदायभन्दा फरक छ। भीमदत्त नगरपालिका–१४ नयाँ बस्तीकी केशमती रानाका अनुसार महिलाहरूले पानीसमेत नखाई निराहार व्रत बस्ने र साँझपख कुसको गाँठो पारेर चाँदीको सिक्काले काटी नदीमा बगाउने गर्छन्।
“नदीमा कुस जति टाढासम्म बग्छ, दाजुभाइको आयु पनि त्यति नै लामो होस् भन्ने धार्मिक विश्वास छ,” उहाँले भन्नुभयो।
यसैगरी तिजका अवसरमा दाजुभाइ तथा भतिजाहरूको दीर्घायुको कामना गर्दै महिलाहरू पिङ खेल्ने र सामूहिक रूपमा रमाइलो गर्ने गर्छन्। भीमदत्त नगरपालिका–१६ का सोमन रानाका अनुसार साउनको सुरुदेखि नै गाउँमा पिङ राख्ने र तिजको दिन विशेष रूपमा व्रत बसेर पर्व मनाउने परम्परा छ।
रानाथारू समुदायमा ‘सावनकी डोला’ अन्तर्गत राखिने पिङ परम्परागत रूपमा काठका खम्बाबाट निर्माण गरिन्थ्यो। तर पछिल्लो समय वन क्षेत्रबाट काठ ल्याउन कठिन भएपछि परम्परागत पिङ निर्माणमा समस्या देखिन थालेको स्थानीय बताउँछन्।
भीमदत्त नगरपालिका–१४ की वसन्ती रानाका अनुसार यस वर्ष दुईवटा फलामका खम्बा प्रयोग गरेर पिङ निर्माण गरिएको छ। परम्परागत रूपमा प्रयोग हुँदै आएको काठ र पिङका लागि आवश्यक रस्सीसमेत जीर्ण हुँदै गएको भन्दै स्थानीयले सम्बन्धित निकायसँग आवश्यक सहयोगको माग गर्दै आएका छन्।
रानाथारू समुदायका जानकारहरूका अनुसार तिज केवल धार्मिक पर्व मात्र नभई खेतीपातीको व्यस्ततापछि थकान मेटाउने, माइती–चेलीबीच भेटघाट गर्ने र सामुदायिक एकता बलियो बनाउने अवसर पनि हो। साउनभर चल्ने ‘सावनकी डोला’ पर्वसँग जोडिएको तिजले रानाथारू समुदायको मौलिक संस्कृति र परम्परालाई पुस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
पछिल्लो समय रानाथारू समुदायका नयाँ पुस्तामा समेत तिज र सावनकी डोलाप्रतिको आकर्षण बढ्दै गएको स्थानीयको भनाइ छ। परम्परागत संस्कार, खानपान, पिङ र धार्मिक विधिलाई निरन्तरता दिँदै मनाइने यो पर्वले रानाथारू समुदायको छुट्टै सांस्कृतिक पहिचानलाई अझ उजागर गरेको छ।