राष्ट्रियसभाको बैठकमा आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक पेस हुँदै
NEWS DESK
Aug-13 तारिख 06:10 बिहान

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुने सम्भावित कार्यसूची रहेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ ले उक्त प्रस्ताव राष्ट्रियसभामा पेस गर्ने कार्यक्रम तय गरिएको छ।

यसैबीच, आज सङ्घीय संसद्का पाँचवटा संसदीय समितिको बैठकसमेत बस्दैछ। संसद् सचिवालयका अनुसार अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति तथा महिला तथा सामाजिक विकास समितिको बैठक विभिन्न समयमा बस्नेछ।

बिहान ९ः३० बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरिनेछ।

त्यस्तै, बिहान १० बजे अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बस्दैछ। बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, २०८१’ मा परेका संशोधन प्रस्तावमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गरिने कार्यसूची रहेको छ।

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे बस्नेछ। उक्त बैठकमा जैविक तथा प्राङ्गारिक मलको प्रयोगको वर्तमान अवस्था, माटोको स्वास्थ्य तथा दिगो कृषि विकासमा यसको सम्भाव्यताका विषयमा छलफल हुनेछ।

पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्नेछ। समितिले खानेपानी आपूर्तिसम्बन्धी कार्ययोजनाको प्रतिवेदनमाथि छलफल गर्नेछ।

त्यसैगरी, महिला तथा सामाजिक विकास समितिको बैठक बिहान ११ बजेका लागि तय गरिएको छ। बैठकमा राष्ट्रिय दलित आयोगको कामकारबाही तथा हालसम्मको प्रगतिबारे छलफल हुने संसद् सचिवालयले जनाएको छ।

यसरी आज राष्ट्रियसभा बैठकसँगै विभिन्न संसदीय समितिका बैठकमा विधेयक, नीति तथा समसामयिक विषयमाथि छलफल हुँदैछ।

धेरै पढिएको