NEWS DESK
काठमाडौं । हाल ‘रङ्गसूत्र नेपाल’ को अध्यक्ष रहेका पुष्पराज अवस्थीले रङ्गमञ्च क्षेत्रमा काम गरिरहेको लगभग १५ वर्ष भयो । पढाईको हिसाबले व्यवस्थापन विषयमा एम.बि.एस पास गरेता पनि उनी कर्मको हिसाबले भने रङ्गमञ्चमै व्यस्त छन् ।
वि.सं २०६८ मा सांस्कृतिक संस्थानबाट नाटक प्रशिक्षण लिएर नाट्य क्षेत्रमा औपचारिक रुपले पाईला टेकेका उनले करिब दुई दर्जन भन्दा बढि मञ्च नाटक, एक दर्जन भन्दा बढि टेलिचलचित्र, चलचित्र र सयौंको संख्यामा सडक नाटकहरुमा अभिनय गरिसेकका छन् । यसका साथै उनले दर्जन भन्दा बढि नाटक लेखन तथा निर्देशन पनि गरेका छन् ।
देशका करिब २५ भन्दा बढि जिल्लाहरुमा नाटकको प्रशिक्षण दिईसकेका उनी हाल उपत्यकाका केही विद्यालयमा पनि नाटक प्रशिक्षण दिईरहेका छन् । भारतको कोलकत्ता, उडिसा (कट्टक), आग्राका थुप्रै अन्तर्राष्ट्रिय नाटक महोत्सवमा उनको लेखन तथा निर्देशन नाटक मञ्चन भएका छन् भने थाईल्याण्ड स्थित ब्याङ्ककको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा पनि नेपालबाट सहभागी नाटक ‘सातुको कथा’ मा अभिनय गर्ने अवसर पाएका थिए । चौथो लालाबाला अन्तर्राष्ट्रिय बाल नाटक महोत्सब २०२४ मा महोत्सव निर्देशकको जिम्मेवारी पनि पूरा गरेका उनले सुदुरपश्चिमको भाषा संस्कृतीमा थुप्रै नाटकहरु गरिसकेका छन् ।