NEWS DESK
काठमाडौं । मैथिली नाटकका लेखक तथा निर्देशक महेन्द्र मलंगियाको चर्चित नाटक ‘देहपर कोठी खसा दिय’ अर्थात् एक पुरिया विषयमा आधारित नाटक ‘नीलो सिन्दुर’ मञ्चनको तयारीमा छ । धिरेन्द्र प्रेमर्षीद्वारा नेपालीमा अनुवाद गरिएको नाटकलाई पुनःसंरचना गर्न लागिएको हो । रङ्गसूत्र नेपाल, हिल्स होम थिएटर र संरक्षणको संयुक्त पहलमा तयार गरिएको उक्त नाटक भदौ १९ गते देखि असोज ४ गतेसम्म काठमाडौंस्थित मण्डला थिएटरमा मञ्चन हुनेभएको हो ।
रामभजन कामत र पुष्पराज अवस्थीको संयुक्त निर्देशन रहेको नाटक यसअघि दिल्लीमा आयोजित मलंगिया महोत्सवमा समेत प्रदर्शन भइसकेको छ । नाटकमा गरिबी, बेरोजगारी, असहायता तथा स्वास्थ्य सेवाको अभावले सिर्जना गर्ने मानवीय संकटलाई कथाको केन्द्रमा राखिएको छ । न्याय, मानव गरिमा, राज्यको दायित्वको नैतिक द्वन्द्वलाई प्रस्तुत गर्ने ‘नीलो सिन्दुर’ एउटा परिवारको दुःखान्त मात्र नभई सम्मानपूर्वक बाँच्न पाउने नागरिक अधिकार र सामाजिक उत्तरदायित्व माथि विमर्श गर्ने समकालीन सामाजिक नाटकका रूपमा प्रस्तुत गरिएको छ ।
नाटकमा प्रभाकर शर्मा, दिपक प्रसाद आचार्य, पुष्पराज अवस्थी, रुपेश मण्डल, रिना रिमाल, वीरेन्द्रसिंह कुशवाहा, तृप्ति श्रेष्ठ, चन्द्रशेखर राय, उत्सव कार्की र राजीव यादव लगायतका कलाकारको अभिनय रहेको छ । मञ्च तथा प्रकाश परिकल्पना झकेन्द्र बी.सी., मञ्च निर्माण होम बी.सी.ले गरेको नाटकको प्रकाश परिचालन प्रेम चन्द पाण्डेय, ध्वनि परिचालन श्रीकृष्ण शाही, संगित सुनिल मल्लिक, मञ्च व्यवस्थापन सुरज घर्ती मगर तथा बजार व्यवस्थापन सबिन न्यौपानेको रहेको छ ।