NEWS DESK
काठमाडौं । कक्षा १२ को नेपाली विषयको पाठ्यक्रममा समावेश हृदयचन्द्रसिंह प्रधानद्वारा लिखित चर्चित सामाजिक उपन्यास ‘एक चिहान’ अहिले नाटकका रूपमा विभिन्न कलेज तथा शैक्षिक संस्थाका विद्यार्थीमाझ प्रस्तुत हुन थालेको छ। साहित्यिक कृतिलाई पुस्तकमा पढेर मात्र नभई मञ्चमार्फत प्रत्यक्ष अनुभव गराउने उद्देश्यले नाटक प्रदर्शन गरिएको हो।
‘एक चिहान’ नेपाली साहित्यको महत्वपूर्ण सामाजिक यथार्थवादी कृति हो। उपन्यासले तत्कालीन नेपाली समाज, गरिब किसान तथा श्रमिक वर्गको जीवन, आर्थिक अभाव, सामाजिक विभेद, संघर्ष र मानवीय संवेदनालाई प्रस्तुत गरेको छ। कक्षा १२ को नेपाली पाठ्यक्रममा ‘एक चिहान’ लाई पाठका रूपमा समावेश गरिएको छ।
उपन्यासलाई एच.पी. मगरले नाट्य रूपान्तरण गर्नुभएको हो भने कल्पना थापा निर्माता र सागर कार्की निर्देशक रहनुभएको छ। नाटकमा बिकास जोशी, कल्पना थापा, रश्मी गुरुङ, नारायण भण्डारी, पुरन राई, प्रदीप विश्वकर्मा, गोविन्दराज खड्का, मुकेश विश्वकर्मा, साङ्केनाम राई, रचना पाण्डे, सरस्वती खड्का, सुनिलकुमार राना, दिरेन कार्की, तुलसी राई र अञ्जना दुलाललगायत कलाकारहरूको अभिनय रहेको छ।
नाटकले विद्यार्थीलाई पाठ्यपुस्तकमा पढेको कथा, पात्र र सामाजिक परिवेशलाई प्रत्यक्ष रूपमा बुझ्न सहयोग पुर्याउने विश्वास गरिएको छ। पुस्तक पढ्दा कल्पना गर्नुपर्ने पात्र तथा घटनालाई कलाकारको अभिनय, संवाद, दृश्य र मञ्चीय प्रस्तुतिमार्फत प्रत्यक्ष हेर्न पाउँदा विद्यार्थीका लागि सिकाइ अझ प्रभावकारी बन्ने देखिन्छ।
विभिन्न कलेजका विद्यार्थीलाई लक्षित गरी प्रस्तुत भइरहेको ‘एक चिहान’ नाटकले साहित्य र रंगमञ्चबीचको सम्बन्धलाई समेत बलियो बनाएको छ। विशेषगरी कक्षा १२ मा अध्ययनरत विद्यार्थीका लागि पाठ्यक्रममा रहेको कृतिलाई नाटकका रूपमा हेर्न पाउनु पढाइलाई व्यवहारसँग जोड्ने महत्वपूर्ण माध्यम बनेको छ।
‘एक चिहान’का विभिन्न नाट्य प्रस्तुतिहरूले यसअघि पनि विद्यार्थीलाई लक्षित गर्दै मञ्चन हुँदै आएका छन्। सांस्कृतिक संस्थानले समेत कक्षा १२ को नेपाली विषयमा समावेश उपन्यासलाई नाटकमार्फत प्रस्तुत गरी विद्यार्थीलाई व्यावहारिक ज्ञान दिलाउने उद्देश्य राखेको जनाएको छ।
साहित्यकार हृदयचन्द्रसिंह प्रधानको कालजयी कृतिलाई नयाँ पुस्तासम्म पुर्याउने तथा विद्यार्थीमा नेपाली साहित्य र रंगमञ्चप्रतिको रुचि बढाउने दृष्टिले ‘एक चिहान’को यो नाट्य प्रस्तुति महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। नाटकले विद्यार्थीलाई पाठ्यक्रमको तयारीसँगै नेपाली समाजको इतिहास, सामाजिक संरचना, संघर्ष र मानवीय सम्बन्धलाई नजिकबाट बुझ्ने अवसरसमेत प्रदान गरेको छ।